बुटवल , जारी धर्ना र प्रदर्शनले बुद्ध जन्मस्थल लुम्बिनीको प्रशासनिक काम अस्तव्यस्त बनेको छ । लुम्बिनी बिकास कोषका कर्मचारीले साउन १३ गतेबाट कामकाज ठप्प गरेर आन्दोलनमा उत्रिएपछि विकास कोषका काम काज ठप्प भएका छन् ।
लुम्बिनीमा आन्दोलनका लागि कपिलवस्तुको तिलौराकोट, निग्रोधाराम, रूपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्रामबाट कर्मचारी बिहान १० बजे कोषको प्रधान कार्यालय लुम्बिनी आउने गरेका छन् .
चारबुँदे माग राखेर आन्दोलित कर्मचारी युनियनको मागका बारे जिम्मेवार पदाधिकारीले चासो नदिएपछि कर्मचारी झनै आक्रोशित बनेका हुन् । गत साउन ८ र ९ मा हातमा कालो पट्टी बाँधेर कर्मचारीले आफ्ना माग पूरा गर्न दबाब दिँदै काम गरेका थिए । त्यसपछि पनि मागबारे कुनै सुनुवाइ नभएपछि साउन १३ देखि कामकाज ठप्प पारी कार्यालयमा तालाबन्दी गरेर विरोध गर्दै आएका हुन्
कर्मचारी युनियनले साउन ५ मै ज्ञापनपत्र बुझाएर विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो । अहिले कोषका जिम्मेवार पदाधिकारी सबै राजधानीमा डेरा जमाएर बसेका छन् । उपाध्यक्ष ल्याहारक्याल लामा, सदस्यसचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई र योजना प्रबन्धक स्मिता भट्ट सबै अहिले काठमाडौंमा छन् ।कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई र लेखा अधिकृत नवल यादव पनि अहिले काठमाडौंमै छन् । पदाधिकारी र उच्च अधिकृत राजधानीमा हुँदा कर्मचारीको मागप्रति सुनुवाइ हुन नसकेको हो ।यसले कर्मचारीले आफ्नो अपमान भएको भन्दै कडा आन्दोलन गर्न छलफल गरिरहेको कर्मचारी युनियनका अध्यक्ष अब्दुल ओफाले बताए । चालु आर्थिक वर्षको वार्षिक नीति, योजना कार्यक्रम बनाउन ढिलो भइरहेको कोषका सूचना अधिकृत राजन बस्नेते बताए ।
कर्मचारी युनियनले सञ्चित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनुपर्ने, कर्मचारी विनियमावली संशोधन गरेर उमेरहद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल सेवा करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग गरेका छन् । त्यस्तै दरबन्दी चाँडै स्विकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनुपर्ने र कोष कर्मचारी विनियमावली ०७९ अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नुपर्ने माग राखेका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend