विराटनगर । गएको शनिवार र आइतबार परेको पानी पछि आएको बढी र पहिरोमा परेर कोशी प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा इलाम, पाँचथर, मोरङ, सुनसरी, उदयपुर, खोटाङ र भोजपुरका रहेका छन् । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बाढी र पहिरोमा परेर हालसम्म ४७ जनाको मृत्यु भइसकेको बताए ।प्रहरीका अनुसार सबैभन्दा धेरै जनधनको क्षति इलाम जिल्लामा भएको छ । इलाममा हालसम्म मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।
पहिरोको कारण इलाम, पाँचथर र सङ्खुवासभा क्षेत्रका धेरै ठाउँमा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध पारेको छ । कोशीका विभिन्न ८ वटा स्थानमा अहिले पनि सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
मेची राजमार्गअन्तर्गत इलाममा एक ठाउँमा , मध्य पहाडी लोक मार्गअन्तर्गत भोजपुरमा तीन ठाउँमा कोशी राजमार्गअन्तर्गत सङ्खुवासभामा दुई ठाउँमा, तमोर कोरिडोरअन्तर्गत धनकुटामा एक ठाउँमा र दिक्तेल–गाईघाट सडक खण्डअन्तर्गत खोटाङमा एक ठाउँमा सडक अवरुद्ध रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend