logo
  • शुक्रबार, असोज ३० २०८३

कार्यालय सहयोगीबाट वडाध्यक्ष, ४० लाख ऋण लागेपछि विदेश


  • बुधबार, साउन २३ २०८१

देउखुरी ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन् । २०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीका लागि बेलायत गएको उनकी श्रीमती संगिता गुरुङले जानकारी दिइन् । गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए । कार्यालय सहयोगी आफ्नै वडाको अध्यक्षमा निर्वाचित भएपछि उनको चर्चा देशभर चुलिएको थियो । करिब ४० लाख ऋण भएकाले ऋण तिर्नका लागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताइन् । ‘करिब ४० लाख ऋण छ । वडा अध्यक्षको पदले ऋण तिर्दैन,’ सङ्गीताले भनिन् ‘ऋण तिर्न विदेश जानुभएको हो ।’ वडा अध्यक्ष गुरुङका दुई छोरा र एक श्रीमती छन् । जेठा छोरा कक्षा १२ र कान्छो छोरा ८ कक्षा मा अध्ययनरत छन् । निर्वांचनमा उम्मेदवार हुँदा लागेको ऋण सहित छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा लागेको ऋण तिर्न नसकेपछि वडा अध्यक्ष गुरुङ्ग ऋणको भारी बोकेर बैदेशिक रोजगारका लागि युके (बेलायत) प्रस्थान गरेका हुन् । उम्मेदवार हुँदा, छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा लागेको करिब ४० लाख ऋण तिर्न नसकेपछि बैदेशिक रोजगारका लागि बेलायत गएको उनकी श्रीमति संगिताले जानकारी दिइन् ।

“वडाअध्यक्षको उम्मेदवार भएपछि लागेको ऋणसहित छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा धेरै ऋण लाग्यो । लिएको ऋणमा ब्याज थपिदै गयो । करिब ४० लाख सम्म ऋण पुग्यो । लागेको ऋण तिर्ने कुनै उपाय रहेन, न त बेचेर तिर्नका लागि जग्गा जमिन छ, न त पैसा आउने कुनै स्रोत छ । वडाअध्यक्ष बाफत सरकारले दिने तलबभत्ता बाफत बडो मुस्किलले ३०÷३५ हजार आउँथ्यो ।

त्यो पैसाले घर खर्च चलाउने मुस्किल हुन्थ्यो,” संगिताले भनिन् । ३०÷३५ हजार पैसा छोराछोरीको स्कूल फिस तिर्ने की ? आमाको उपचार गर्ने की ? घर खर्च चलाउने ? संगीताले भनिन् । उनले पाउने तलबभत्ता घर खर्च चलाउनै मुस्किल भइरहेको बेला ऋण तिर्ने त परैको कुरा भयो । जसले गर्दा हामीले लिएको ऋणमा ब्याज थपिदै गयो जसले गर्दा बिदेश जाने बाहेक आर्को बिकल्प भएन, चन्द्रका जीवन संगीनी संगिताले भनिन्  ।

वडाअध्यक्ष गुरुङ्गकी आमा बालिकादेबि गुरुङ्ग लामो समय देखि दिर्घ रोगको बिरामी छन् । आमा बालिकाको काठमाडौँ र बुटवल लगायतका ठाउँमा उपचार गर्दागर्दै गत बर्ष मृत्यु भयो । आमाको उपचारमा पनि लाखौँ रकम खर्च भयो । आमाको उपचारका लागि समेत लिएको ऋण घट्ने भन्दा दिन प्रतिदिन ब्याज बढ्दै गयो । वडा अध्यक्ष गुरुङ्गले पाउने तलबभत्ता दुई छोरा पठाउन र घर खर्च धान्न धौँ—धौँ हुने गरेकोले लिएको ऋण तिर्न नसकेको उहाँकी जीवनसंगीनी संगिताले भनिन् । साहुहरुको चरम दबाब र आफ्नो इज्जत जोगाउन बाध्य भएर युके गएको उनले बताइन् । वडा अध्यक्ष गुरुङ्गका बुवा निमबहादुर गुरूङ्ग बेलायतको रिटायर सेना हुन् । उनको करिब १६÷१७ बर्षअघि नै प्यूठानमा मृत्यु भएको थियो । बुवाको मृत्युपछि बेलायत सरकारले रिटाएर भएका सेनाका छोराछोरीलाई रोजगार दिने व्यवस्था गरेको छ । सोही अनुसार उनले बेलायतमा रोजगारीका लागि प्रकृया अगाडि बढाएका हुन् ।

बेलायत सरकारले रोजगारका लागि वडा अध्यक्ष गुरुङ्गलाई अनुमति दिएपछि उनी यही साउन २० गते आइतबार दिउँसो करिब १२ बजे गएका हुन् । यता वडा अध्यक्ष गुरुङ्गले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी भने वडा सदस्य चम्फा पुनलाई दिएका छन् । गुरुङ्गले लिखित रुपमै कार्यबाहक वडा अध्यक्षका रुपमा वडा सदस्य पुनलाई जिम्मेवारी दिएको ८ नम्बर वडा सचिव असलेक चौधरीले बताए । तर कार्यवाहक अध्यक्षको अबधि भने खुलाइएको छैन ।

पहिलो स्थानीयतहको निर्वाचनमा नेकपा एमालेबाट वडा नम्बर ८ को वडा अध्यक्षमा गोकणर्बहादुर राना निर्वाचित भएका थिए । वडा अध्यक्ष रानाको कार्यकालमा अहिलेका बहालवाला वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग कार्यालय सहयोगीको रुपमा कार्यरत थिए । गत २०७९ मा सम्पन्न स्थानीयतहको निर्वाचनमा तिनै कार्यालय सहयोगी गुरुङ्ग नेकपा एमालेबाट उम्मेवार भई भारी मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend