logo
  • शनिबार, कार्तिक १ २०८३

पहिरोमा च्यापिएर गुल्मीमा चार, बागलुङमा ८ जनाको मृत्यु


  • बुधबार, साउन २३ २०८१

बुटवल ।

मंगलबार पहिरोमा पुरिएर गुल्मीमा ४ जना र बाग्लुङमा ८ जनाको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा २ जना गरी आठ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।बडीगाड गाउँपालिका १० मा मंगलबार बिहान घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२÷१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो ।

यसैगरी संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन् । यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ । घाइतेहरुलाई उद्धार गर्न जिल्ला सदरमुकामबाट हेलिकोप्टर पठाउन लागिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए यसैगरी गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा मंगलबार बिहान घर माथिबाट गएको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको हो ।

पहिरोमा पुरिएर बिसौनाका ४० वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मुसुरी विक र साढे दुई वर्षकी रियन्सी विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिए ।यस्तै पहिरोमा पुरिएर विष्णु विक र नुना विक घाइते भएका थिए । उनीहरु दुई जनाको स्थानीयवासीले उद्धार गरेका थिए । अहिले उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदी अमराईबाट टोली घटनास्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालय पनि टोली घटनास्थलतर्फ लागेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend