बुटवल ।
देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ । बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् । बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् ।आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । अहिलेसम्म ३ सयभन्दा बढीको प्रदर्शनमा मृत्यु भएको छ । सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए । अन्तर्राष्ट्रिय मिडियाका अनुसार हसिना सेनाको हेलिकप्टरबाट भारतको शरणमा पुगेकी छन् ।
२० वर्षभन्दा बढी शासन गरेकी हसिनालाई किन भाग्नुपर्यो ?
कर्फ्यूका बीच सोमबार लाखौंको संख्यामा रहेका आन्दोलनकारीले ढाकामा लङमार्च गरेका थिए । कोटा प्रणालीविरुद्ध विश्वविद्यालयका विद्यार्थीहरूले गरेको आन्दोलन सरकारविरुद्ध सोझिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाड्नुपरेको छ ।बंगलादेशको राजधानी ढाकाको स्थानीय समयअनुसार दिउँसो करिब साढे २ बजे उनी आफ्नो बहिनीसँगै सैनिक हेलिकप्टरमा भारततर्फ प्रस्थान गरेकी हुन् ।
बीबीसी बंगला र ढाका ट्रिब्युनले स्रोतलाई हवाला दिँदै हसिना भारत छिरेको पुष्टि गरेका छन् ।पछिल्लो आन्दोलनका क्रममा बंगलादेशमा ३ सय जनाको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन् । सरकारले २५ हजारभन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।सोमबार प्रदर्शनकारीले गरेको ’लङ मार्च’का क्रममा प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगा हानिएको थियो । आफू सुरक्षित नहुने देखेर उनले देश छाडेको आकलन भइरहेको छ ।
हसिनाको प्रारम्भिक जीवन र पृष्ठभूमि
अहिले देश छाड्न बाध्य भएकी बंगलादेशी प्रधानमन्त्री हसिनाको जन्म सन् १९४७ को सेप्टेम्बर २८ मा तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा भएको थियो । उनी बंगलादेशका संस्थापक नेता एवं पहिलो राष्ट्रपति शेख मुजीबुर रहमानकी छोरी हुन् ।हसिनाको परिवार बंगलादेशको राजनीतिमा गहिरो गरी संलग्न थियो भने उनका बुवा देशको स्वतन्त्रता संग्रामका नेतृत्वकर्ता थिए ।आफ्नो बुवाको प्रभावका कारण हसिनाले सानैदेखि आवामी लीगमा संलग्न रहेर राजनीति गर्न थालेकी थिइन् । आवामी लीगले बंगलादेशको स्वतन्त्रता आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
सन् १९७५ मा भएको सैनिक कूमा उनका बुवा र परिवारका धेरैजसो सदस्यहरूको हत्या भयो, तर हसिना र उनकी बहिनी पश्चिम जर्मनीमा रहेकाले बाँच्न सफल भए । उनी लामोसमय भारत र बेलायतमा निर्वासनमा बसिन् ।सन् १९८१ मा निर्वासनमा रहँदा नै उनी अवामी लीगको अध्यक्षमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनी बंगलादेश फिर्ता भइन् । उनको फिर्तीले अवामी लीगका धेरै समर्थकमा आशा जगाएको थियो ।सन् १९८६ मा भएको आम निर्वाचनमा उनी प्रमुख विपक्षी दलको नेताका रूपमा स्थापित भइन् । त्यसपछि उनले राजनीतिमा पछि फर्केर हेर्नुपरेन ।
सन् १९९६ को आम निर्वाचनमा उनको पार्टी अवामी लीगले भारी बहुमत हासिल ग¥यो । हसिनाले १९९६ देखि २००१ सम्म ५ वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरिन् ।पहिलो कार्यकालमा उनले विभिन्न आर्थिक सुधारहरूको शुरूवात गरिन् भने महिला अधिकारको पक्षपोषण गरिन् । सन् १९९७ मा चटगाँउ हिल ट्र्याक्ट्स शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफ्नो देशभित्र चलिरहेको दशकौं लामो विद्रोह समाप्त पार्न उनले खेलेको भूमिकाको अहिले पनि प्रशंसा हुन्छ ।
दोस्रो कार्यकालबाट निरंकुशताको शुरूआत
सन् २००८ को चुनावमा भारी बहुमत ल्याएपछि उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनिन् । यो कार्यकालमा आर्थिक सुधारमा जोड दिएपनि उनको निरङ्कुश शैलीका कारण त्यति प्रख्याति हासिल गर्न भने सकिनन् ।दोस्रो कार्यकालमा उनले ’डिजिटल बंगलादेश’ पहलको शुरूआत गरिन् । बंगलादेशलाई मध्यम आय भएको राष्ट्रको रूपमा लैजान पहल गरिन्, तर उनले जनताको मन जित्ने गरी काम गर्न सकिनन् ।
सन् २०१४ को आमनिर्वाचनलाई त्यहाँको विपक्षी पार्टीहरूले बहिष्कार गरे । उनको निरङ्कुश र स्वेच्छाचारी शैली नमान्ने भन्दै विभिन्न आन्दोलनहरू भयो । तर, उनले सेना परिचालन गरेर विपक्षीको आवाज दबाइन् । हजारौं विपक्षी नेतालाई जेलमा राखेर गरिएको निर्वाचनमा उनले बहुमत हासिल गरिन् । तेस्रो कार्यकाल अलोकप्रियताका बीच गुज्र्यो ।
अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको थियो, तर उनको निरङ्कुश शैली सच्चिएन । विपक्षीहरूको मुख थुनेर उनीहरूको बहिष्कारबीच फेरि बंगलादेशमा अर्को निर्वाचन भयो ।सन् २०१८ को डिसेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली गराएर उनी चौथो कार्यकालका लागि प्रधानमन्त्री बनिन् । विवादका बीच ५ वर्ष गुजारेपछि उनी पुनः प्रधानमन्त्री बन्ने ध्याउन्नमा लागिन् ।यही ७ जनवरी २०२४ मा भएको अर्को आमनिर्वाचन जितेर उनी पाचौं कार्यकालका लागि प्रधानमन्त्री बनिन् । जम्मा ४० प्रतिशत मत खसेको थियो भने विपक्षीहरूले यसअघि झैँ निर्वाचन बहिष्कार गरेका थिए ।उनीमाथि निरंकुशताको ट्याग लाग्दै गयो । कोटा प्रणालीविरुद्ध विद्यार्थीहरूले आन्दोलन शुरू गरेपछि सडकमा उत्रेका सुरक्षाकर्मीले सयौंको ज्यान लिएका थिए । उनीमाथि सत्ता छाड्न त्यहींको सेना, गुप्तचर निकाय र पूर्व सेनाप्रमुखहरूको दबाब थियो ।
पाँचौं कार्यकालको शुरूदेखि नै अलोकप्रिय बन्दै गइरहेकी प्रधानमन्त्री हसिनाले अन्ततः देश छाड्नु परेको छ । हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । बंगलादेशी सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै अन्तरिम सरकार बन्ने बताएका हुन् ।राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारी प्रवेश गरेको बीबीसी बंगलालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । उनी सैन्य हेलिकप्टरमा भारतको त्रिपुरा राज्यको राजधानी अगरतला पुगेको बीबीसीले उल्लेख गरेको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend