३० असार, नवलपरासी
लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ र ७ मा एक हजार दुई सय बिघा धानखेती डुबानमा परेको छ । लगातार चार दिनसम्म परेको पानीले धानखेती डुबानमा परेको हो ।चार दिनसम्म अविरल वर्षा हुँदा खेतमा पानी नघट्नुका साथै रोपाइँ गरेको धान पनि नष्ट भएको गाउँपालिकाका कृषि प्राविधिक कूलदीपनारायण मिश्राले बताए । उनका अनुसार गत वर्ष पनि वर्षाले शङ्करपुर, मधवलिया, भुजहवा बुडनतवापुरका किसानको खेतीमा क्षति भएको थियो ।
झरही खोला र धनेवा खोला दीर्घकालीन रुपमा समाधान नहुँदा यहाँका मुख्य खाद्यभण्डार भनिने शङ्करपुर, खडवना, मधवलिया, भुजहवा हिउँदमा सुक्खा र वर्षयाममा प्रत्येक वर्ष डुबानको चपेटामा पर्ने गरेका छन् सरावल–७ निवासी धर्मनाथ कुश्वाहाले बताए ।
झरही र धनेवा खोलामा बाढी आएकाले खोला वरपरका किसानको धानखेती डुबानमा परेको स्थानीय उपेन्द्र हरिजनले बताए । खोलामा तटबन्ध बनाउनेतर्फ ध्यान नपुग्दा मधवलिया, शङ्कपुर, भुजहवाका हजारौँ कृषकले बर्सेनि ठूलो क्षतिको सामना गर्नु परिरहेको उनको भनाइ छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend