३ भदौ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेका कारण लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको माग र सरकारका अंगहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण संसद बैठक बस्न सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । एमालेले भने १० साउनदेखि संसदमा अवरोध गर्दै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पहल गरे पनि सहमति जुटेको छैन ।यद्यपि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आइतबार (आज)देखि संसदको अवरोध हट्ने विश्वास व्यक्त गरेका थिए । त्यसका लागि शनिबार पनि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend