बेलहियामा एकीकृत चेकजाँच बिन्दु सञ्चालन गरिने
बुटवल , १९ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित नेपाल–भारत सीमा नाका बेलहियामा थप व्यवस्थित र प्रभावकारी रूपबाट एकीकृत चेकजाँच बिन्दु सञ्चालनमा गरिने भएको छ ।
आगामी असोज १ गतेबाट थप व्यवस्थित र प्रभावकारी रूपबाट एकीकृत चेकजाँच बिन्दु सञ्चालन गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा।टोकराज पाण्डेले बताए ।
भारत लगायत तेस्रो मुलुकबाट बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको सहजताको लागि स्थापित एकीकृत चेकजाँच बिन्दुको प्रभावकारी व्यवस्थापनका लागी यस्तो निर्णय गरिएको हो ।
जसअनुसार उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशले आवश्यक जनशक्तिको व्यवस्थापन, आवश्यक पर्ने सबै चेकजाँच स्टिकर उपलब्ध गराउने र अन्य निकायसँग समन्वय गर्ने र आवश्यकता अनुसार साधन स्रोत उपलब्ध गराउनेछ
त्यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाउने, प्रभावकारी व्यवस्थापनका लागि निरन्तर अन्तर निकाय समन्वय र सहजीकरण तथा नियमित अनुगमन, मूल्याङ्कन र समन्वय गर्नेछ । त्यसै गरी सिद्धार्थनगर नगरपालिकाले आवश्यक पर्ने सबै पूर्वाधार चेकजाँच कक्षको निर्माण, खानेपानी र सर सफाइको उचित प्रबन्ध, सीमा क्षेत्रमा सौन्दर्यीकरणको कार्य र आवश्यकता अनुसार स्रोतसाधन उपलब्ध गराउनेछ । रुपन्देहीका सम्पूर्ण सुरक्षा निकायले सुरक्षा चेकजाँच गरी स्टिकर जारी गर्ने, आवश्यकता अनुसार समन्वयात्मक रूपमा जनशक्ति उपलब्ध गराउने र अन्तर निकाय समन्वय र सहजीकरण गर्ने पाण्डेयले बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend