logo
  • शनिबार, कार्तिक १ २०८३

सुनचाँदी व्यवसायीको  आन्दोलनमा प्रमुख दलहरूको   साथ


  • मंगलबार, असार १७ २०८२

बुटवल,१७ असार ।
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरूले प्रमुख राजनीतिक दलहरूसँग छलफल गरेका छन्।
रुपन्देहीमा आयोजित ‘राजनीतिक दलहरू तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम’मा व्यवसायीहरूले करलाई अन्यायपूर्ण भन्दै सशक्त विरोध जनाएका हुन्।
रुपन्देही सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष गोपाल रामदामको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष बुद्धि दियालीले सरकारले रैथाने तथा पुर्खौली पेसा गर्दै आइरहेको सुनचाँदी व्यवसायीहरूलाई आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य मार्फत घोषणा गरेको कर नीतिले व्यवसायीहरूलाई विस्थापित गराउन खोजेको आरोप लगाए ।
देशभर २३ हजार ६५० व्यवसायी सरकारी रूपमा दर्ता छन्, करिब ३ लाख व्यवसायी र १५ लाखभन्दा बढी परिवार यो व्यवसायमा निर्भर छन्। यस्तो पेसामाथि बोझ पार्ने निर्णय उपभोक्ता र व्यवसायी दुवैका लागि घातक भएको समेत सुन चाँदी व्यावसायीहरुको   बुझाई रहेको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव चित्र बहादुर केसीले देशको अवस्थालाई मध्यनजर गर्दै सरकारले शान्तिपूर्ण ढङ्गले वार्ताको माध्यमबाट मागको सुनुवाइ गर्नुपर्ने बताए। साथै उनले यो करको विषयमा व्यवसायीको असहमतिलाई प्राथमिकताका साथ लिएर अर्थमन्त्री विष्णु पौडेललाई पुन बिचारको लागी अनुरोध गर्ने बताए
नेपाली काँग्रेस जिल्ला सदस्य गोविन्द खनालले व्यवसायीका मुद्दा संसद् र सरकारसम्म पुर्‍याउन प्रतिबद्धता जनाए।
त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसीले सुनचाँदी व्यवसायीको पीडा गम्भीर रहेकोले आफ्नो संसद्मा समेत निरन्तर आवाज उठाइरहेका बताए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अध्यक्ष महेन्द्र उपाध्याय,राप्रपा जिल्ला सहसचिव शङ्कर खत्री, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टाँनबहादुर केसी, नेकपा समाजवादी जिल्ला उपाध्यक्ष अबिराम बिक, नेपाल समाजवादी पार्टी नयाँ शक्ति जिल्ला सचिवालय सदस्य विष्णु खत्री ,जनमत पार्टीका रुपचन्द यादव, र नेपाल किसान पार्टीका सुन्दर बासी, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी वीरेन्द्र श्री ,पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च अध्यक्ष समुन्द्र जिसी लगायतले बोल्दै सुनचाँदी व्यवसायीको यो आन्दोलनमालाई सरकारले  गम्भीर रूपमा लिनु पर्ने बताएका थिए ।
कार्यक्रममा बुटवल सुनचाँदी व्यवसायी सङ्घ अध्यक्ष एवम् कार्यक्रम संयोजक गोकुल विश्वकर्माको स्वागत, महासचिव दीपक कौशलको सञ्चालन र केन्द्रीय सदस्य दीपक विश्वकर्माको धन्यवाद ज्ञापनमा सम्पन्न भएको हो ।सुनचाँदी व्यवसायीहरूले यसअघि पनि कर नीतिको विरोधमा आन्दोलन थालेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने आश्वासन दिएपछि केही समयका लागि आन्दोलन रोकिएको थियो। तर बजेट पारित हुँदा मागको सम्बोधन नभएको भन्दै व्यवसायीहरू व्यवसाय नै बन्द गरेर पुनः आन्दोलित बनेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend