बुटवल, वैशाख ५
बुटवल उद्योग वाणिज्य सङ्घले माल बस्तु ढुवानी तथा लोड अनलोडको सहज व्यवस्थापन गर्न आग्रह गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । सङ्घको टोली राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पुगेर कार्यालय प्रमुख एसपी श्यामबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
बुटवलको मुख्य सडक निर्माणको क्रममा रहेको र अव्यवस्थित पार्किङका कारणले सामानको ढुवानी तथा लोडिङ अनलोडिङ्मा समस्या भएको बताउँदै माल बस्तुको ढुवानी तथा लोडिङ, अनलोडिङमा सहज व्यवस्थापनको माग गरिएको सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
माल बस्तु ढुवानीका साधन ट्र्याक्टर, छोटा हात्तीबाट हुने लोड, अनलोड डेलिभरीमा ट्राफिक प्रहरीबाट अनाहकमा दुख दिने, चिट काट्ने कार्य भएकाले उक्त कार्य बन्द गर्न आग्रह गरिएको हो । ज्ञापन पत्रमा सडक निर्माणको क्रममा रहेको तथा ट्राफिक चोकदेखि माथि सर्भिस लेन पनि नभएको र सडक नियमको पालना गर्दै हुने डेलिभरी लोड अनलोडमा समेत जरिवाना गर्ने साथै पार्किङ गरिराखेका गाडीमा समेत ह्वील लक लगाउने र चिट काट्ने कार्य भएकोले यस प्रकारको कार्य यथासिघ्र बन्द गरी व्यापार सहजीकरण गरिदिन अनुरोध गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी श्यामबहादुर खत्रीले सकेसम्म व्यवहारिक रूपमा ट्राफिक व्यवस्थापनको काम गरिएको बताए । उनले सडक निर्माणको काम पुरा नहुँदासम्म व्यवहारिक रूपमा सहजीकरण गर्ने बताउँदै ट्राफिक व्यवस्थापनमा पनि सहज हुने गरी ढुवानी लोड अनलोडको काम गर्न आग्रह गरे ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend