पुस २०८१
दाङ । सत्तामा रहेको दल नेपाली कांग्रेसले दामा करिब ८४ प्रतिशत क्रियाशील सदस्यता नवीकरण गरेको छ । पार्टीको सय दिने अभियान सम्पन्न गर्न जिल्लामा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाईली खटिएका थिए । सो अभियानका क्रममा उक्त सफलता हासिल गर्न सफल भएको केन्द्रीय सदस्य स्नेहीले जानकारी दिए ।
‘आज सय दिने अभियान सम्पन्न गर्यौँ । अभियान सम्पन्न गर्दै गर्दा ८३।६७ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भएको छ‚’ उनले रातोपाटीसँग भने‚ ‘१८ हजार ९०६ जना क्रियाशील भएकोमा करिब ८४ प्रतिशत नवीकरण भएको हो ।’
उनले क्रियाशील सदस्य मध्ये ६३ जनाको मृत्यु भएको जानकारी दिए । यस्तै‚ क्रियाशील सदस्यता नवीकरण गर्न आवेदन दिएका तर‚ लेवि भुक्तान नगरेका ३ प्रतिशत जति संख्या रहेको पनि उनले बताए ।
‘आफू स्वयम् उपस्थित हुन नसकेको तर क्रियाशीलको फारम भरेका विदेशमा रहेकाहरूको संख्या करिब ५ प्रतिशत छ‚’ उनले भने‚ ‘यो महिना भित्र ९६ प्रतिशत क्रियाशील सदस्यता नवीकरण यहाँ हुन्छ ।’वास्तविक अवस्था पत्ता लगाउने‚ भातृ शुभेच्छुकको अवस्था पत्ता लगाउने‚ खाली रहेका विभिन्न पदमा सहमतिको आधारमा चयन गर्ने काम पनि भएको छ । यसबाहेक अधिवेशन गर्न बाँकी भातृ संस्थाको क्यालेन्डर बनाएर अधिवेशन गराउने गरी सहमति र निर्देशन गर्ने काम पनि भएको छ ।
अभियानको क्रममा १० वटै पालिका प्रमुख र उपप्रमुखलाई बोलाएर गरिएको छलफल अनुसार प्रत्येक तीन महिनामा समीक्षा बैठक गर्ने र स्थानीय सरकारलाई जनउत्तरदायी र जबाफदेही बनाउने निर्णय पनि भएको छ ।
अभियानले स्थानीय तहमा बढ्दो बेरूजु र भ्रष्टचार नियन्त्रणका लागि आवश्यक पहल चाल्ने विषयमा गम्भीर छलफल र समीक्षा गरेको स्नेहीले बताए ।
‘यसका लागि प्रत्येक तीन तीन महिनामा जिल्लाको पार्टी कार्यसमितिले जनप्रतिनिधिलाई सचेत गराउन प्रत्येक स्थानीय तहलाई छुट्टाछुट्टै बैठक गर्ने र समन्वय गराउने गरी निर्णय भएको छ‚’ उनले थपे ।
अभियानले महासमितिको बैठकले पारित गरेको पार्टीको महत्त्वपूर्ण र अनिवार्य घोषणालाई तल्लो तहसम्म कार्यान्वयन गराउने निर्णय सहित निर्देशन दिने काम गरेको उनले जानकारी दिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend