logo
  • शुक्रबार, असोज ३० २०८३

आगामी वर्ष सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश घोषणा गर्छौंः मुख्यमन्त्री आचार्य


  • सोमबार, कार्तिक १२ २०८१

कार्तिक १२

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउन सरकारले अठोट लिएको बताएका छन् । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ सम्वोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले आगामी बर्ष प्रदेशलाई सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त घोषणा गर्ने गरी कार्यक्रम अघि बढाउने जनाए ।

मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार स्वागत गर्दै मुख्यमन्त्री आचार्यले मानव भएर मानवको हिसावले बाँच्न पाउने वातावरण सुनिश्चित गरिने जनाए । ‘यहाँहरुले थालेको अभियानमा प्रदेश सरकारको साथ सहयोग छ । मानव भएर मानवको हिवासले बाँच्न पाउनुपर्छ’, उनले भने, ‘प्रदेश सरकार साझेदारी रुपमा यो अभियानमा जोडिन चाहन्छ । हामी आउने बर्ष लुम्बिनी प्रदेशका सडकमा बास बस्ने मानिस नरहने गरी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरेर अघि बढ्छौं ।’

लुम्बिनी प्रदेश भित्र रहेका मानव सेवा आश्रमको विवरण र त्यहाँ आश्रितहरुको विवरण संकलन गरिने समेत जानकारी दिए । असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि २७ गते झापाको मेची पुलबाट सुरु भएको उद्धारटोली १३ औं दिनमा लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी आइपुगेको हो । अभियानको क्रममा एक सय २८ सडक आश्रित मानवको उद्धार गरिएको छ ।

लुम्बिनी प्रदेशका जिल्लाहरुबाट हालसम्म २८ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन् । मेचिमहाकाली यात्रामा रहेको उद्धार टोलीमा सहभागीहरुलाई मुख्यमन्त्री आचार्यले स्वागत सम्मान गरे । आचार्यले टोलीमा सहभागी आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष तथा चर्चित गायक आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए । स्वागत कार्यक्रममा प्रमुख सचिव महादेव पन्थ, सचिवहरु कृष्ण पौडेल, ईश्वरराज पौडेलको समेत सहभागिता थियो ।

सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ । यात्रामा ५० जना यात्री अर्थात् उद्धारकर्मीहरु छन् । मानवसेवा आश्रमको ७ वटा प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्रहरू सञ्चालनमा छन् । पहिलो मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ७ सय ५८ जनाको उद्धार भएको थियो भने अघिल्लो वर्ष भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ३ सय ४ जनाको उद्धार भएको थियो ।

यो उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । मानव सेवा आश्रमले आउँदो वर्ष अर्थात् २०८२ साल भित्र नेपाललाई सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश निर्माण गर्ने सङकल्प गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend