काठमाडौंँ । काठमाडौँ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेश पूर्वसांसद रेखा शर्मालाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो।
म्याद थपका लागि अदालतमा उपस्थित गराइएकी शर्माको मुद्दामा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। शर्मामाथि एक नाबालकलाई यातना दिई दास बनाएको आरोप लागेको थियो। अदालतको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरिसकेको तथ्यलाई मुख्य आधार मानिएको छ ।
प्रमाणको अभावमा मुद्दा नचलाउने सरकारी वकिलको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले समेत समर्थन गरिसकेको अवस्थामा प्रतिवादीलाई थुनामा राख्नु आवश्यक नभएको अदालतको ठहर छ।
आदेशमा भनिएको छ, ‘माननीय महान्यायाधिवक्ताबाट तोकी आएअनुसार उल्लेखित आधार र कारणका आधारमा शंकित रेखा कुमारी शर्मा उपर मुद्दा नचल्ने भै आएको निर्णय समर्थन गरी अन्तिम फैसला पठाइदिने निर्णय गरिदिएको छ भन्ने महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०८०-०२-१६ मा निर्णय भइसकेको विषयमा पुनः सोही विषयमा प्रतिवादीलाई थुन्नै राखी मुद्दा गर्नु पर्ने अवस्था नदेखिँदा प्रतिवादी रेखा कुमारी शर्मालाई हिरासतबाट मुक्त गरी मुद्दाको अनुसन्धान गर्नु ।’
शर्माको पक्षमा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल तथा अधिवक्ताहरू राधिका खतिवडा र मञ्जु जवालेलीले बहस गरेका थिए।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend