logo
  • शनिबार, कार्तिक १ २०८३

‘राष्ट्रको संकट समाधान गर्न वाम–देशभक्त एकता अपरिहार्य’ : प्रचण्ड


  • शुक्रबार, मंसिर १३ २०८२

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा आयोजित सन्देश सभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहद् एकता अपरिहार्य भएको बताएका छन् । आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको भन्दै उनले सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल गरे ।

सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफ्नो विशेष भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गरे । गणतन्त्र स्थापना पश्चात सबैभन्दा धेरै संवाद, भ्रमण र विकास पहल सुदूरपश्चिममै गरिएको उनको भनाई थियो। “सुदूरपश्चिममा जनयुद्ध र जनआन्दोलनमा अपार बलिदान भएको छ। त्यही बलिदानको कदर गर्दै हामीले पछिल्ला वर्षहरूमा यो क्षेत्रलाई निरन्तर प्राथमिकतामा राख्यौँ,” संयोजक प्रचण्डले भने ।

संयोजक प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको ऐतिहासिक एकताको परिणाम भएको उल्लेख गर्दै यसले देशभर नयाँ ऊर्जा पैदा गरेको उल्लेख गरे । एमालेभित्रका देशभक्त तथा क्रान्तिकारी कार्यकर्तालाई पनि यस पार्टीमा एकताबद्ध हुन आग्रह गर्दै उनले भने ।  “अब कोही माओवादी, कोही समाजवादी, कोही केन्द्रीय—भन्नुपर्ने आवश्यकता छैन। सबै नेपाली कम्युनिष्ट। यही भावना अनुसार पार्टीको नाम राखिएको हो।”

देशव्यापी चर्चामा रहेको जेएनजी आन्दोलनबारे बोल्दै प्रचण्डले २३ र २४ गतेका घटनालाई “नरसंहार” का रूपमा चित्रित गर्नुभयो। युवापुस्ताका मागहरू जायज रहेको पुनः दोहोर्‍याउँदै उनले सरकारको बल प्रयोग गलत भएको बताए ।
उनले राजनीतिक नेतृत्व तथा अभिभावकहरूलाई आत्मालोचना गर्नुपर्ने बताए । —“हामीले आफ्नै छोराछोरी, नाति–नातिनातर्फ पर्याप्त ध्यान दिन सकेनौँ। उनीहरू इन्टरनेट र एआईको नयाँ संसारमा पुगे। हामी सबैले घर–परिवारबाटै युवालाई इतिहास, राष्ट्र र समाजबारे शिक्षित बनाउनै पर्छ।”

प्रचण्डले देश केही महिना अघिको राजनीतिक संकट अत्यन्त गम्भीर मोडमा पुगेको बताउँदै २६ गते राति “गणतन्त्र खारेज हुनसक्ने” सम्मको चर्चा चलेको स्मरण गरे । सो रात राष्ट्रपति कार्यालयबाट आकस्मिक बोलाहट आएपछि उहाँले र माधवकुमार नेपालले शीतल निवास पुगेर संविधान र प्रणालीलाई जोगाउन सक्रिय भूमिका खेलेको बताए ।

“राष्ट्र विहीनजस्तै अवस्था आएको थियो। त्यस्तो संकट दोहोरिन नदिन वाम–देशभक्तहरूको ठूलो एकता आवश्यक छ,” संयोजक प्रचण्डले भने ।  आगामी निर्वाचन नै देशलाई स्थिरता दिने मार्ग भएको स्पष्ट गर्दै प्रचण्डले विगतमा संसद विघटनमा संलग्नहरूले अहिले पुनःस्थापनाका कुरा उठाउनु बेमौसमको बतास जस्तै भएको टिप्पणी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओली तर्फ इंकित गर्दै “देशलाई उल्टो बाटोमा लैजाने दम्भी र अहंकारी प्रवृत्तिलाई जनता आफैंले सबक सिकाउने बेला आएको छ,” उनले भने ।  साथै, उनले सबै शक्ति मिलेर कृषि, उद्योग, पर्यटन, जडीबुटी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमार्फत देशको कायापलट गर्न आवश्यक रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend