बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दिगो विकास र वातावरण संरक्षणका लागि स्थानीय तहरुको विश्वव्यापी सञ्जाल संगठन (आईसिएलई आई) को पूर्ण सदस्यता प्राप्त गरेको छ ।
जर्मनीमा मुख्य कार्यालय रहेको आईसिएलईआई स्थानीय तथा क्षेत्रीय सरकारहरूको विश्वव्यापी नेटवर्क हो । हाल उक्त नेटवर्कमा विश्वभरका २ हजार ५ सय भन्दा बढी सहर र स्थानीय सरकारहरू आवद्ध छन् । उक्त अन्तर्राष्ट्रिय संस्थाले दिगो विकास, वातावरण संरक्षण र जलवायु–अनुकूलका विभिन्न कार्यक्रम गर्दै आएको छ ।
आईसिएलईआईले गत कार्तिक २६ गते सदस्यता दिने निर्णय गरेकोमा त्यसको प्रमाणपत्र तिलोत्तमा नगरपालिकाले हालै प्राप्त गरेको हो । प्रमाणपत्रमा आईसिएल ई आई का अध्यक्ष क्याट्रिन स्टजर्नफेल्ड्ट जम्मेह र सचिव भेन विगेनले हस्ताक्षर गरेका छन् ।
सदस्यतापछि तिलोत्तमा नगरपालिकाले शून्य–उत्सर्जन, प्रकृतिमा आधारित समाधान, जलवायु अनुकूलन, जलवायु जोखिम मूल्यांकन, वातावरणीय संरक्षण तथा दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम, तालिम र परियोजनामा सहभागी हुने अवसर प्राप्त गर्ने नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिए ।
यससँगै तिलोत्तमा नगरपालिका एसियामा सामाजिक रूपमा समावेशी लचिलोपन (सिरा) परियोजना सञ्चालनका लागि पनि योग्य ठहरिएको जनाइएको छ । सदस्यता प्राप्तिले नगरपालिकाले सञ्चालन गर्दै आएका फोहोर व्यवस्थापन, जलवायु अनुकूलन, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरणीय सुधार तथा दिगो शहरी विकासका क्षेत्रमा थप टेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए ।
अन्तर्राष्ट्रिय फोरममा उपस्थिति जनाउने क्रममा तिलोत्तमा नगरपालिकाले यसअघि स्पेनको युसिएलजी, साउथ कोरियाको सिटिनेट र जापानको शान्तिका लागि नगर प्रमुखहरुको संगठनको सदस्यता प्राप्त गरिसकेको छ । योसँगै तिलोत्तमा विभिन्न चार वटा अन्तर्राष्ट्रिय फोरमको सदस्यता प्राप्त गर्ने यस क्षेत्रकैं पहिलो पालिका बनेको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend