बुटवल,असोज
लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष फूलको उत्पादन वृद्धि भएको छ। तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलको उत्पादन बढेको लुम्बिनी प्रदेश कृषि निर्देशनालय, बुटवलले जनाएको छ।
लुम्बिनी प्रदेशमा गत वर्ष ३ लाख ८ हजार ५ सय केजी सयपत्री फूल उत्पादन भएकोमा यस वर्ष ३ लाख २३ हजार ९२५केजी उत्पादन भएको छ। यस्तै,तिहारमा प्रयोग हुने मखमली फूल पनि गत वर्षको तुलनामा बढेको छ। गत वर्ष २४ हजार ४९५ माला उत्पादन भएकोमा यो वर्ष २६ हजार माला उत्पादन भएको निर्देशनालयले जनाएको छ।
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका बागवानी विकास निर्देशक सन्देश धितालले गत वर्षभन्दा यस वर्ष किसानहरूले तिहारमा लगाउने फूल खेतीको क्षेत्रफल पनि विस्तार गरेको बताए।उनका अनुसार गत वर्ष सयपत्री फूल २५.७२ हेक्टरमा लगाइएकोमा अहिले २७.०१ हेक्टर पुगेको छ।यस्तै, मखमली फूल गत वर्ष शून्य दशमलव ३३ हेक्टर रहेकोमा अहिले शून्य दशमलव ३५ हेक्टर भएको निर्देशनालयले जनाएको छ।
गत वर्ष तिहारमा लुम्बिनी प्रदेशमा सयपत्री फूल १२करोड ३४ लाख रुपैयाँको बिक्री भएकोमा यस वर्ष १२ करोड ९५लाख ७० हजार रुपैयाँको कारोबार हुने अनुमान कृषि निर्देशनालयले गरेको छ।यस्तै,मखमली फूलको गत वर्ष ८ लाख५७ हजार रुपैयाँको उत्पादन भएकोमा अहिले १० लाख ४० हजार रुपैयाँ बराबरको उत्पादन भएको अनुमान गरिएको छ।
बुटवल उपमहानगरपालिका–१५,चम्कीपुरमा रहेको फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिसर्च सेन्टरले अहिले १० कट्ठामा फूल खेती गरेको छ। गत वर्ष ८ कट्ठामा खेती गरेका राजेशले यस वर्ष तिहारको फूलबाट राम्रो आम्दानी हुने भएकोले क्षेत्रफल बढाएको बताए।
अहिले यहाँ ७ हजारभन्दा धेरै माला उत्पादन हुने आङ्कलन गरिएको उनले रातोपाटीलाई बताए। विगतका वर्षहरूभन्दा अहिले मौसम पनि राम्रो भएकोले फूलको उत्पादनमा वृद्धि भएको हो।
बुटवल उपमहानगरपालिकाभित्र तिहार लक्षित फूल उत्पादन गर्ने व्यावसायिक कृषि फर्महरूले कार्तिक २ गतेबाट बुटवलको ट्राफिक चोकमा फूल र माला बिक्री गर्ने स्टल राख्नेछन्। अहिले पनि १४जना स्थानीय महिलाहरूलाई फूल टिप्न र माला बनाउनका लागि रोजगारी दिएका छन्।
उनले काठमाडौँ, विराटनगर र वीरगन्जबाट होलसेलरले फोनगरेपनि अन्यत्र नदिई बुटवलमै बजार बिक्री गर्ने योजना रहेको बताए।
बुटवलमा तिहारका लागि कम्तीमा ६० हजार माला आवश्यक पर्ने भएकाले आफूहरूले उत्पादन गरेको माला र फूलहरू बुटवलमै सहज रूपमा खपत हुने विश्वास उनले व्यक्त गरे।
पाल्पाको माथागढी गाउँपालिका वार्ड २ का किसान दामोदर घर्तीले व्यावसायिक रूपमा फूल खेती गर्न थालेको ५ वर्ष भयो। उनले अहिले ३ रोपनीमा तिहारका लागि फूलखेती गरेका छन्। स्थानीय कामदार लगाएर अहिले आफ्नो फर्ममा फुलेका फूलहरू धमाधम पाल्पा र बुटवलका कोल्ड स्टोरमा पठाउन सुरु गरेको उनले बताए।
उनले तिहारमा मात्रै नभएर अन्य बेला पनि फूल उत्पादन गर्ने गर्दछन्। उनले फूलखेतीबाट सन्तुष्ट भएको बताए। उनले स्थानीय तह माथागढी गाउँपालिकाबाट फूलको बीउमा ७५ देखि ८० प्रतिशतसम्म अनुदान पाइने गरेको पनि बताए। यस्तै, बुटवलका राजेश कुँवरले पनि फूल बिक्रीका लागि नगरपालिकाले ट्राफिक चोकमा स्टल निःशुल्क उपलब्ध गराएको बताए।
सरकारले पनि प्रवर्द्धनमा सहयोग
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका बागवानी विकास निर्देशक सन्देश धितालले पछिल्ला वर्षहरूमा लुम्बिनी प्रदेशमा व्यावसायिक रूपमा फूल उत्पादन गर्ने किसानहरू बढ्न थालेपछि उनीहरूलाई तालिम दिने कार्यहरू भइरहेको बताए।
उनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि जिल्लाबाटआवश्यकताका आधारमा विभिन्न काम भइरहेको खुलासा गरे।
खासगरी,भारतबाट आयात गरिने प्लास्टिकका मालाहरू प्रयोग गर्दा वातावरणमा असर पर्ने, र स्थानीय किसानहरूलाई प्रवर्द्धन गर्नका लागि लुम्बिनी प्रदेशका केही स्थानीय तहहरूले अहिले तिहारमा सूचना नै जारी गरेका छन्।


रुपन्देहीको बुटवल उपमहानगरपालिकाद्वारा तिहार तथा छठ पर्वमा प्लास्टिकको फूल बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरिएको छ।उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लास्टिकको फूल बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरेको हो।बुटवल नगरप्रमुख खेलराज पाण्डेयले जारी गरेको सूचनामा स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नुसबैको दायित्व भएको उल्लेख गर्दै उपमहानगरपालिकाले प्लास्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावरणीय सौन्दर्यमानसमेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरिएको छ।यस्तै,कपिलवस्तुको शिवराज नगरपालिकाले पनि स्थानीय फूलको प्रयोग गर्न आग्रह गरेको छ।उक्त नगरपालिकाले पनि एक सूचना जारी गर्दै स्वदेशी फूलको प्रयोग गर्ने र प्लास्टिकका फूलहरू रोक्ने निर्णय गरेको हो।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend