चितवन । थारु समुदायले मनाउने मौलिक पर्व जितियामा यसवर्ष चितवनमा कुनै सार्वजनिक कार्यक्रम नहुने भएको छ ।
हिजोदेखि सुरु भएको यस पर्वको आज मुख्य दिन हो । पहिलो दिनलाई मछुवारी अर्थात् माछामार्ने दिन भनिन्छ। थारु समुदायले खोलानाला तथा तालहरुमा गएर माछा मार्ने र घरमा परिकार बनाएर खाने चलन छ। यस दिनलाई ‘लहाखाई’ पनि भनिन्छ। ब्रत बस्ने महिलाले नुहाएर मात्रै भोजन गर्ने भएकाले लाहा खाई भनिएको हो ।
जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइन्छ। पहिलो दिन सप्तमीलाई लाहा खाएके, दोस्रो दिन अष्टमीलाईउ पास (उपवास) र तेस्रो दिन नवमीलाई पारन भनिन्छ ।
जिल्ला सचिव शन्तकुमार चौधरीले भने, आन्दोलनका क्रममा धनजनको ठूलो क्षति भएकाले राष्ट्र शोकमा परेको बेला ठूलो धुमधाम गर्न नसकिने भएकोले घरघरमा मात्रै सिमित गर्ने निर्णय गरिएको हो ।
उनका अनुसार यस वर्ष गीत, झमटा नाच र स्टेज कार्यक्रम रद्द गरिएको छ। अब समुदायले आफ्ना गाउँघरमा भेला भई कथा सुन्ने, नजिकैका खोला–तालमा स्नान गर्ने र परिवारमै सिमित रुपमा पर्व मनाउने जनाएका छन् ।
चितवनमा थारुहरुको बाक्लो बसोबास हुने रत्ननगर, कालिका, खैरहनी, राप्ती, मेघौली र माडी क्षेत्रमा विगतमा जितिया भव्य रूपमा मनाइन्थ्यो । झण्डै १ लाखको हाराहारीमा थारु समुदायको जनसंख्या रहेको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend