२ भदौ
बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलोग्राम तथा स्टिकरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, कानपुर नववस्ती बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् ।
प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलिहिया बसपार्कस्थित होटेल मुक्तिनाथमा प्रवेश गर्न लागेका बेला उनलाई पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा बरामद सामानमा त्रिभुवन विश्वविद्यालय, अमिटी युनिभर्सिटी (उत्तर प्रदेश), जवाहरलाल नेहरु टेक्नोलोजी युनिभर्सिटी हैदराबाद, छत्रपति साहुजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद, कुरुक्षेत्र विश्वविद्यालय, आन्द्र युनिभर्सिटीलगायतका संस्थाका प्रमाणपत्र, मार्कसिट, प्रोभिजनल प्रमाणपत्र, क्यारेक्टर प्रमाणपत्र, माईग्रेसन सर्टिफिकेटसहित हजारौं कागजातहरू रहेका छन् ।यस्तै, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, उच्च माध्यमिक शिक्षा परिषद लेखिएका हजारौं संख्यामा होलोग्राम, विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका स्टाम्प, स्टिकर र खाली लोगोहरू समेत बरामद गरिएको रुपन्देहीका डिएसी सुरज कार्कीले जानकारी दिए ।
बरामद अन्य सामानमा एचपी कम्पनीको ल्यापटप, आइफोन, रियलमी मोबाइल, पेन्ड्राइभ, चार्जर, एटीएम कार्ड, १८ हजार ७३० भारतीय रुपैयाँ र ३ हजार २० नेपाली रुपैयाँ नगद समेत रहेका छन् घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।