logo
  • शनिबार, कार्तिक १ २०८३

 बुटवलको नवीन औद्योगिक माविमा  कक्षा ११ विद्यार्थीलाई भव्य स्वागत  .


  • बिहिबार, साउन २३ २०८२

बुटवल, साउन २२ ।
नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय देवी नगरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ मा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका छन् ।
सो अवसरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा शिक्षाको क्षेत्रमा छुट्टै पहिचान बनाएर देशका ५८ वटा जिल्लाका विद्यार्थीहरूलाई भर्ना गरेकोमा खुसी व्यक्त गर्दै नवीनले शैक्षिक क्षेत्रमा मात्र नभई अनुशासन, खेलकुद, संस्कार, संस्कृति र उद्घोषणकलामा उत्कृष्ट रहेको बताउँदै नवीनका विद्यार्थीहरूलाई बुटवल उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनको अवसर दिने प्रतिबद्धता व्यक्त गर्दै नवीनले देशमा नै छुट्टै पहिचान भएको बताउँदै यसको उत्पादनले देशको उच्च पदस्थ, कर्मचारी र देश हाँक्न सक्ने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गर्दै सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नु भयो ।

नवीन विद्यार्थी क्लबका अध्यक्ष तथा सिभिल इन्जिनियरिङ कक्षा १२ का विद्यार्थी सुवास पौडेलको अध्यक्षतामा कानुन समूह कक्षा १२ का विद्यार्थी मनीषा खड्का, हविवा खातुन र विज्ञान समूह कक्षा १२ का विद्यार्थी इशान गैरेको संयुक्त संचालनमा सम्पन्न कार्यक्रममा २०८१ को इसइइ परीक्षामा ४ जिपिए ल्याउन सफल मेधावी विद्यार्थी आर्यन पौडेललाई प्रोत्साहन स्वरूप एकाउन्न हजार नगद, २०८२ को कक्षा १२ को वोर्ड परीक्षामा व्यवस्थापन समुहबाट ३।९४ जिपिए ल्याई नेपालमा द्वितीय र बुटवलमा प्रथम हुन सफल माधव खनालका अभिभावकलाई एक्काइस हजार प्रोत्साहन स्वरूप नगद रकम र विज्ञान समुहबाट ३।९४ जिपिए ल्याउन सफल नेपालमा तृतीय हुन सफल राजु यादवलाई एमविविएस तयारीको लागि विद्यालयबाट अठार हजार र विज्ञान समूहका शिक्षकहरुबाट तेतिस हजार गरी एकाउन्न हजार नगद पुरस्कार बुटवल उपमहानगरपालिकाका प्रमुखले आर्यन पौडेलका बुबा डिल बहादुर पौडेल, आमा कल्पना पौडेल, माधव खनालका दाजु घनश्याम खनाल र राजु यादवकी आमा अमरावती देवी यादबलाई वितरण गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयमा ७ वटै प्रदेशका ५८ वटा जिल्लाका विद्यार्थीहरू अध्ययन गर्ने गरेको, यसै वर्षबाट सिनियर डिभिजन तर्फ एनसीसीमा नेपाली सेनाबाट छनौट भएको विद्यालयमा हाल पाँच हजार विद्यार्थी अध्ययन गर्ने गरेको, यसै शैक्षिक सत्रमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा बाह्रसय आठ विद्यार्थीहरू भर्ना भएको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक अर्जुन खनाल, कक्षा १२ व्यवस्थापन समूहका विद्यार्थी सन्तोष के।सी।, कानुन समूह कक्षा १२ का विद्यार्थी अमृत बेवारे लगायतले मन्तव्य व्यक्त गरेका थिए कानुन समूहका विद्यार्थीहरूले रोचक नाटक प्रस्तुत गरेका थिए ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सांस्कृतिक संयोजक अर्जुन शाहको नेतृत्वमा दर्जनौँ रोचक नृत्यहरू प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend