logo
  • शुक्रबार, असोज ३० २०८३

बुद्ध शिक्षाबाट अन्तर्राष्ट्रिय कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य


  • आइतबार, साउन १२ २०८२

। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् ।  ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताए । ‘बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ’ उनले भने । मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औंल्याए । उनले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे । बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गरे ।संगोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रहरूबाट सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिहरूको उपस्थिति रहेको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षामा नैतिकको निकै महत्व रहेको भन्दै बुद्धका शिक्षाले सबैलाई त्यसतर्फ लगिरहेको बताए ।भारतीय विद्वान प्रा. अभयकुमार सिंहले ‘कूटनीति र बुद्धका शिक्षाको मार्गदर्शन’ विषयमा धारणा व्यक्त गरेका थिए । सो अवसरमा भारत तथा नेपालका विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच सम्झौता समेत गरिएको थियो । रजिष्ट्रार डा. तिलक आचार्यले स्वागत गर्दै बौद्ध कुटनीति बिश्वभर फैलाउन आवश्यक रहेको बताए । उनले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सेमिनार मार्फत विश्वलाई शान्तिको सन्देश फैलाउने कार्य गरिरहेको जानकारी दिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्ण लाल ब्रजाचार्यको अध्यक्षता तथा डीन डा. मणिकरत्न शाक्यले धन्यवाद ज्ञापनसहित भएको कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले सहजीकरण गरेका थिए । सेमिनारमा विभिन्न देशका एक दर्जन विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिए । सेमिनारमा नेपाल र भारतका विश्विद्यालयका एक दर्जन उपकुलपतिहरू सहभागी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend