बुटवल – जेठ ३०
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जाऊँ है पोखरा अभियानको टोलीले लुम्बिनी प्रदेशमा पनि विगत वर्ष जस्तै अहिले कार्यक्रम सुरु गरेको छ । होटेल सङ्घ पोखरा नेपाल र जाऊँ है पोखरा अभियानले उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा विभिन्न ठाउँमा गर्ने क्रममा अहिले लुम्बिनी प्रदेशको बुटवलमा पर्यटन व्यवसायीहरूसँग आज अन्तरक्रिया गरेको छ ।
होटेल सङ्घ पोखरा नेपाल र जाऊँ है पोखरा अभियानले उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा जेठ २९ गते देखि असार २ गते सम्मका लागि पश्चिम नेपालका बुटवल, नेपालगन्ज, सुर्खेत र दाङमा अभियान सञ्चालन गरेको हो ।सोही अभियान अन्तर्गत अभियानले बुटवलमा प्रशासनिक निकाय सहित सरोकारवालाहरूसँग पोखराका लागि निम्तो दिँदै अन्तरक्रिया गरेको छ ।अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जाऊँ है पोखरा अभियानले आन्तरिक पर्यटन प्रर्वदनका लागि काम गर्नुपर्ने बताए। उनले अब पोखरा र लुम्बिनीलाई जोडेर पर्यटन प्रर्वदन अभियान थाल्नुपर्ने बताए।
अन्तरक्रिया कार्यक्रममा नेपाल होटेल सङ्घ ९हान० का केन्द्रीय सदस्य सिपी श्रेष्ठले नेपालमा जनसङ्ख्या निकै न्यून भएकाले आन्तरिक भन्दा विदेशी पर्यटकहरूलाई नै आकर्षित गर्ने गरी अभियानहरू सञ्चालन गर्नुपर्ने बताए । उनले सरकारले लिने नीतिका कारण पर्यटकहरू आउन नसकेको र आएकाहरूले खर्च नगरेको समेत बताए ।
उनले अहिले वर्तमान सरकारले भन्सार चेकजाँचमा लिएको नीति, भारतीयहरूलाई २५ हजार भन्दा बढी ल्याउन नदिने नीतिमा ५ हजार डलरसम्म ल्याउन दिने जस्ता प्रावधान राखेर बजेट आएकाले त्यसले पर्यटन क्षेत्रमा आशा जगाएको बताए । यसै गरी अन्तरक्रिया कार्यक्रममा होटेल सङ्घ पोखराका अध्यक्ष एव जाऊँ है पोखरा अभियानका संयोजक लक्ष्मण सुवेदीले दुई दशकअघिदेखि सुरु भएको यो अभियानले आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।
उनले बुटवल भैरहवाका होटेल व्यवसायीहरूसँग सहकार्य गरेर विगतदेखि नै काम गर्दै आइरहेको बताउँदै लुम्बिनी र पोखरा जोड्ने गरी अभियानहरू थाल्नुपर्नेमा जोड दिए । उनले पश्चिम नेपालका सहरहरूसँग पोखरालाई जोड्न सिधा बस सेवा, भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा होटेल तथा पर्यटन व्यवसायी गोपाल रानाले आन्तरिक पर्यटन प्रवर्द्धनमा जाऊँ है पोखरा बुटवल भैरहवा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरूका लागि समेत सिकाई हुने बताए ।
अभियान अन्तर्गत बुटवलपछि नेपालगन्ज, सुर्खेत र दाङको घोराहीमा कार्यक्रम रहेको आयोजकले जनाएका छन् । पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत अभियानले अपिल गरेको छ ।पोखराको होटेल क्षेत्रमा पाँच खर्ब हाराहारीको लगानी, एक हजार दुई सय होटेलमा ४० हजार बेड तथा करिब २० हजार जनाले रोजगारी पाएको होटेल सङ्घ पोखराको दाबी छ । आन्तरिक पर्यटन प्रवर्द्धन कै लागि सङ्घले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव र खेलकुदका कार्यक्रम समेत गर्दै आएको छ । सङ्घले भारतीय पर्यटक प्रवर्द्धनका लागि भारतीय सहरहरूमा ‘चलिए पोखरा अभियान’ समेत सञ्चालन गर्दै आएको जानकारी जनाएको छ ।यसै गरी अन्तर्राष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टहरूमा समेत सङ्घले सहभागिता जनाउँदै आएको छ । पोखरामा बन्जी जम्पिङ, जिप लाइनिङ, विभिन्न मठ, मन्दिरहरूमा सन्ध्याकालीन आरती, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रा लाइट, क्यानोनिङ लगायत दर्जनौँ पर्यटकीय सेवा उपलब्ध रहेको अवगत गराउँदै पोखरा नेचर, कल्चर र एड्भेञ्चर सबै हिसाबले उपयुक्त पर्यटकीय गन्तव्य भएको बताउँदै पोखरा भ्रमणका लागि अभियानले निम्तो समेत दिएको छ ।पोखरामा पर्यटन तान्ने विभिन्न क्षेत्रहरू रहेका छन् भने लुम्बिनीमा धार्मिक स्थल भएको दुवै विच थप सहकार्य गरेर पर्यटन तान्नु पर्ने पर्यटन व्यवसायीको भनाई रहेको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend