२१ साउन, गुल्मी ।
गुल्मीको सत्यवती र छत्रकोट गाउँपालिका जोड्ने बडीगाड खोलाको पक्की पुल प्रयोगविहीन भएको छ ।सत्यवती गाउँपालिकाको चोरकाटेबाट छत्रकोट गाउँपालिकाबाट हुँगा जोड्ने पक्की पुल तयार भएको सडक राम्रो नभएकाले प्रयोगमा आउन नसकेको हो ।
सत्यवती गाउँपालिकाको चोरकाटे भन्ने स्थानबाट छत्रकोट गाउँपालिकाको हुँगा तर्फको पुल नजिकै रहेको सडक भत्किएर अवरुद्ध भएको छ ।सडक भत्किएर गाडी चल्न नसक्ने भएकाले पक्की पुल प्रयोगमा नआएको छत्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम न्यौपानेले बताए । पुलबाट छत्रकोट तर्फको सडक मर्मत हुन नसकेको जानकारी दिँदै उनले हिँउदमा सडक मर्मत गरेर सञ्चालनमा ल्याइने बताए ।
२०७२ असार ३१ गते निर्माण सुरु भएको पक्कीपुल २०७९ साउन १५ गते तयार भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमनाथ पौडेलले बताए ।१०५ मिटरको लम्बाई रहेको पुल १४ करोड १७ लाख २४ हजार ४३७ रुपैयाँको लागतमा रसुवा एलिक जेभी काठमाडौंले निर्माण गरेको हो । पुल निर्माण गरेर सडक डिभिजन कार्यालय पाल्पालाई हस्तातरण भइसकेको पौडेलले बताए ।
अब सडक स्तरोन्नतिको काम पनि सोही सडक डिभिजन कार्यालयले गर्ने उनले जानकारी दिए ।