महासमितिले विश्वसम्पदा स्वयम्भू तथा यस आसपास क्षेत्रका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा हुने घुइँचो व्यवस्थापन, सरसफाइ, रङ्गरोगन, सडक बत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा गरी आजदेखि मेला सुरु गरिएको महासचिव बुद्धाचार्यले जानकारी दिए ।
चैत्यको जीर्णोद्धार सम्पन्न गरिएकाले यस वर्ष दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने अपेक्षा गरिएको उनले उल्लेख गरे । थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट एक महिनाको अवधिमा करिब पाँच लाख आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।
स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले उक्त मेलामा आउने भक्तजन तथा सर्वसाधारणको सुरक्षाका साथै सडकमा ट्राफिक व्यवस्थापन गर्ने महासचिव बुद्धाचार्यको भनाइ छ ।
‘संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ’, उनले भने ।विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा तान्त्रिक देवीदेवताको पनि विश्रामस्थल रहेको जनविश्वास छ ।
यहाँ सबै सम्प्रदायका बौद्ध अनुयायी तथा हिन्दू धर्मावलम्बीले आस्था प्रकट गर्दछन् । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि जीर्णोद्धार सम्पन्न गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुँदै गएको महासमितिका महासचिव बुद्धाचार्यले जानकारी दिए ।