एउटा हात्ती पश्चिम चितवनको शिशुवार पुगेको थियो भने अर्को हात्ती भागेर भरतपुर १९ को निलडाँडा पुगेको थियो । पछि फेरि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट २ वटा हात्ती ल्याएर बाघलाई तीनतिरबाट घेरा हालेर डार्ट गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
‘घना घारी भएकाले पहिचान गर्न पनि समस्या भयो, हात्ती लैजान पनि टाढा र समस्या भयो, सबै चासोपाँजो मिलाउँदा समय पनि लाग्यो’, निकुञ्जका सूचना अधिकारी तिवारीले भने, ‘हामीले विहानै खबर आए पछि नै एक टोली पठाएर बाघलाई त्यहाँबाट अन्यत्र भाग्न दिएका थिएनौं, अन्यत्र भागेको भए उसले अरु धेरै ठाउँमा आक्रमण गर्न सक्थ्यो ।’
विगतमा बाघलाई नियन्त्रणमा लिने १ महिनासम्म समय लागेको इतिहास रहेको सूचना अधिकारी तिवारीले बताए । नियन्त्रणमा लिएको यो बाघको उमेर र लिङ्ग खुलेको छैन । बाघलाई सौराहामा रहेको निकुञ्जको खोरमा लगेर राखिने सूचना अधिकारी तिवारीले बताए ।
सौराहामा रहेका २ वटा खोरमध्ये एक खोर खाली छ, अर्को खोरमा ठोरीबाट डार्ट गरेर ल्याएको बाघ राखिएको छ । निकुञ्जसँग सौराहामा २, कसरामा ३ र भरतपुर- १३ देवनगरमा २ बाघ राख्न सक्ने क्षमता छ ।अहिले कसरामा ३ र देवनगरमा २ बाघ छन् । थप बाघ नियन्त्रणमा लिनुपरेमा अब राख्ने ठाँउसमेत नभएको सूचना अधिकारी तिवारीले अनलाइनखबरलाई जानकारी दिए ।