चितवन ।
पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान सङ्गठित गरेर उनले देशका ७४ जिल्लामा बजारीकरणका लागि पुगे।
यद्यपि, अहिले पनि अण्डाको लागत मूल्य पाउन अझै सकेको छैन । कोभिडको महामारीपछि निरन्तर नोक्सानमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता व्यवसायीमा छ । किसान पोखरेलको नेतृत्वमा बनेको नेपाल लेयर्स कुखुरापालक सङ्घले बजारीकरण गर्दै आएको छ । फार्मको अण्डालाई सोझै किसानको भान्सामा पुर्याउने गरी काम गरिरहेको छ ।
किसान पोखरेलको भनाइमा प्रतिक्रेट (३० वटा अण्डाको) लागत मूल्य रु चार सय २० हाराहारी पर्दछ । अहिले पनि प्रतिक्रेट रु तीन सय ७० मा बिक्री गर्नुपर्ने बाध्यता छ । सङ्घ गठन भएपछि केही महिना लागत मूल्यसम्म पुगेको भए पनि पुनः घटेको हो । यद्यपि पहिलेको झैँ निकै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता अहिले नरहेको उनले बताए।
चार वर्षअघि दैनिक ६० हजार कार्टुन (एक कार्टुनमा सात क्रेट) सम्म अण्डा उत्पादन हुने गरेकामा यो घटेर २४ हजार कार्टुन हाराहारीमा झरेको छ । एक हजार चार सय हाराहारी फार्मबाट घटेर तीन सय हाराहारीमा झरेको जनाइएको छ । ठूला फार्म सञ्चालनमा आएकाले धेरै अण्डा देखिए पनि फार्मको सङ्ख्या निकै घटेको छ ।
किसान र व्यवसायीको अवस्था निकै खस्किएर व्यवसाय धान्ने सङ्घर्षमा रहेका छन् । आत्मनिर्भर यस व्यवसायलाई सरकारले सम्बोधन गर्न नसकेमा समाप्त हुने अवस्थामा पुगेको उनको भनाइ छ । उनले भने, “अझै पनि सरकारले सम्बोधन गर्न सक्यो भने व्यवसाय जोगिन सक्छ ।”
सङ्घकै व्यवसायीहरुले नेपाल एग ट्रेडिङ सञ्चालन गरेर देशभरका अण्डा सङ्कलन गरी बजारीकरणसमेत गर्दै आएका छन् । यसले अण्डाको बजारीकरणमा सहयोग पुगेको उनको भनाइ थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend