मेयर्स फोरमको बैठक महिनाको एक पटक बस्ने गरेको छ । पाँच महिना अगाडि फोरमको अध्यक्षमा ललितपुरका मेयर महर्जन अध्यक्षमा चुनिएका थिए । फोरम गठन हुनुअघि चन्द्रागिरि नगरपालिकामा भएको पहिलो भेलामा फोरमको अध्यक्षता काठमाडौंको मेयरका रुपमा आफूले गर्न पाउनुपर्ने बालेनको प्रस्ताव थियो ।
तर, अघिल्लो पटक काठमाडौंका मेयरले फोरमको अध्यक्षता गरेकाले यसपटक ललितपुरलाई दिनुपर्ने महर्जनले बताएका थिए । त्यसपछि बालेन आफू फोरमको साधारण सदस्य मात्रै हुने, अन्य पदमा नरहने भन्दै बाहिरिएका थिए ।
त्यसपछिका बैठक क्रमशः ललितपुर महानगर, सुयविनायक नगरपालिका, टोखा नगरपालिकाले गरेका थिए । ती कुनै वैठकमा पनि बालेन सहभागी भएका थिएनन् ।
बुढानीलकण्ठ नगरपालिकाले मंगलबार आयोजना गरेको बैठकमा भने उनी उपस्थित भए ।
तर, बैठक एजेन्डामै प्रवेश नगरी आफूले बोल्न पाउनुपर्ने हठ गरी उनी उठेर हिँडे । ‘बालेनले सुरुमै बोल्न खोज्नुभयो, एजेण्डा प्रस्तुत गरेपछि बोलौं भन्दा उठेर हिँड्नुभयो’, बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले बताए ।
‘उहाँले सुरुबाट नै आफू अध्यक्ष नभएपछि मेयर्स फोरमको वैठकमा आउन नखोज्ने, नटेर्ने जस्तो गर्नुभएको थियो । आज उहाँ बैठकमा आउँदा अन्य मेयर तथा उपमेयरहरु खुशी भएका थिए । तर, लफडा गरेर अशोभनीयता देखाउनुभयो’, बैठकमा सहभागी अर्का एक मेयरले भने ।
बालेनले मेयरको गरिमा नराखेको उनले बताए । ‘हामी सामूहिकतामा विश्वास गर्छौं तर उहाँले अशभ्य बानीव्यहोरा देखाउनुभयो । हामी त छक्क प¥यौं’, ती मेयरले भने ।
बैठकबाट बालेन निस्किएपछि काठमाडौंकी उपप्रमुख सुनिता डंगोल करिब डेढ घण्टा बसिन् तर आफू नबोल्ने बताइन् । ‘हामीले उपप्रमुखज्यूलाई बोल्न अनुरोध गर्दा उहाँ पनि ‘आज म बोल्दिन’ भनेर एकछिनमा निस्किनुभयो’, बुढानिलकण्ठका मेयर अधिकारीले भने ।
बैठकमा नेपवेष्ट नामको कम्पनीलाई उपत्यकाको फोहोर एकीकृत रुपमा व्यवस्थापन गर्न दिने भन्ने विषयमा छलफल भएको थियो । तर, नेपवेष्टलाई फोहोर व्यवस्थापन गर्न नदिने भनेर अघिल्लै बैठकमा निर्णय भइसकेकामा फेरि त्यस विषयलाई किन एजेन्डामा राखिएको भन्दै प्रश्न गर्न खोज्दा नदिएकाले बालेन उठेर हिँडेको उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए ।
‘लगानी बोर्डमार्फत प्रस्ताव भएर आएको तर अघिल्लो मेयर्स फोरमको बैठकबाट टुंगिसकेको विषय अहिले बैठकमा किन एजेण्डा बनाइयो भन्ने प्रश्न गर्दा उत्तर नआएपछि बालेन हिँड्नुभएको हो’, उनले भने, ‘फोहोर व्यवस्थापनको प्रस्ताव फोरमकै वैैठकबाट अस्वीकार गर्ने निर्णय भएको थियो ।’
बालेनले नेपवेष्टको विषयलाई एजेन्डामा राखिएको विषयमा फोरमका अध्यक्ष महर्जनलाई फोनमा पनि सोधेको र उत्तर नपाएको शाहले बताए । ‘बैठकमा यही एजेण्डालाई प्रष्ट पार्न भनेर बारम्बार भन्नुभयो, माइक माग्नुभयो । उत्तर आएन, बोल्न माइक दिइएन । अनि उठेर हिँड्नुभएको हो’ भुपदेवले भने ।
मंगलबारको बैठकमा फोहोर व्यवस्थापनका विषयमा नेपवेष्टले प्रस्तुतिकरण गरे पनि त्यस विषयमा कुनै निर्णय नभएको बुढानीलकण्ठका मेयर अधिकारीले बताए ।