बुटवल, साउन ८। लुम्बिनी प्रदेशमा लामो समयदेखि पशुपन्छी तथा मत्स्य विकास क्षेत्रमा योगदान पुर्याउँदै आएका वरिष्ठ पशु चिकित्सक लोकराज भुसाललाई लुम्बिनी प्रदेश सरकारले बिदाइ गरेको छ।
नेपाल सरकारको कृषि मन्त्रालयअन्तर्गत पशु सेवा विभाग मातहतका विभिन्न निकायमा २०४४ सालदेखि करिब ३९ वर्ष सेवा गरेका भुसाल पछिल्लो पाँच वर्षदेखि लुम्बिनी प्रदेशमा समायोजन भई कार्यरत थिए।
लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र मातहतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा वरिष्ठ पशु चिकित्सक तथा सूचना अधिकारीको जिम्मेवारीमा रहेर उनले प्रदेशका कृषक, उद्यमी, डेरी व्यवसायी तथा दुग्ध उत्पादक सहकारी संस्थालाई आवश्यक प्राविधिक सेवा, सल्लाह र सुझाव प्रदान गर्दै आएका थिए।
यस्तै, कृषि तथा पशुपन्छी क्षेत्रको नीतिगत विकासका लागि सकारात्मक पैरवी र एड्भोकेसी गर्दै उनले यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको मन्त्रालयले जनाएको छ।
गत असार १७ गतेदेखि स्वेच्छिक अवकाश लिएका भुसाललाई मन्त्रालयले आयोजना गरेको एक समारोहबीच बिदाइ गरिएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि मन्त्री तुलसी चौधरीले भुसालले कृषि तथा पशु प्राविधिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले लामो समयसम्म सरकारी सेवामा रहेर प्रदेशको कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा भुसालले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए।
यस्तै, प्रदेश कृषि निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेयले लामो समय प्रदेशमा रहेर डा. भुसालले पुर्याएको योगदानको सबैले प्रशंसा गर्नुपर्ने बताए।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend