logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवललाई सफा र हरियाली बनाउन वडाध्यक्ष पौडेल निरन्तर फिल्डमा


  • आइतबार, भाद्र ७ २०८३

बुटवल, भदौ ७ । बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष नरेश्वर पौडेल आफ्नो वडाको विकाससँगै बुटवललाई सफा, सुन्दर र हरियाली बनाउने अभियानमा निरन्तर फिल्डमा खटिएका छन्।

समाजसेवी तथा इमानदार जनप्रतिनिधिको परिचय बनाएका पौडेलले वडाका विभिन्न स्थानमा थुप्रिएको फोहोर हटाउने, सडक आसपासको सरसफाइ गर्ने तथा सडकमा रोपिएका बिरुवाको संरक्षणलाई प्राथमिकतामा राखेका छन्। पछिल्लो समय वडा नं। ४ मा सरसफाइ अभियानलाई तीव्र पारिएको छ।

विश्व हिन्दु महासंघ, दूरसञ्चार कार्यालय, उच्च अदालत, नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि तथा ट्राफिक चोकभन्दा माथिल्लो सडक क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको वडाध्यक्ष पौडेलले बताए।

उनले वडाको भौतिक विकाससँगै स्वस्थ र स्वच्छ वातावरण निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको बताए। राजमार्ग क्षेत्रमा गरिने वृक्षरोपणलाई व्यवस्थित र आकर्षक बनाउनुपर्ने उनको धारणा छ।

पौडेलका अनुसार राजमार्ग चौराहादेखि हाईवेसम्म एउटै प्रकृतिका आकर्षक बिरुवा रोपेर त्यसको संरक्षण गर्न सके बुटवलको सौन्दर्य थप बढाउन सकिन्छ। यस विषयमा आफूले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा सडक डिभिजन कार्यालयका प्रमुखसँग समेत आग्रह गरेको उनले बताए।

‘सडकको सौन्दर्यले बुटवलको समग्र पहिचानमा राम्रो प्रभाव पार्छ। त्यसैले एउटै प्रकृतिका राम्रा बिरुवा रोपेर संरक्षणमा ध्यान दिनुपर्छ,’ पौडेलले भने।

पौडेलले आफूले करिब सात वर्षअघि ट्राफिक चोकदेखि कस्तुरी होटलतर्फ राजमार्ग क्षेत्रमा आफ्नै खर्चमा धुपीका बिरुवा रोपेको स्मरण गरे। अहिले पनि बसपार्क अगाडि बिरुवा रोप्ने तथा संरक्षण गर्ने कामलाई निरन्तरता दिइरहेको उनले बताए।

वडा नं। ४ मा विभिन्न क्लब तथा स्थानीय समूहले रोपेका बिरुवालाई थप विस्तार गर्ने र संरक्षण गर्ने काम भइरहेको पौडेलको भनाइ छ। बिरुवामा पानी र मल राख्ने तथा आवश्यक स्थानमा तारबार गर्ने काम पनि वडामार्फत भइरहेको उनले बताए।

‘सफा र सुन्दर वडा बनाउन जनप्रतिनिधिको प्रयास मात्र पर्याप्त हुँदैन। स्थानीय बासिन्दासँगै मिलेर काम गर्न सके मात्रै सुन्दर वडा र सुन्दर बुटवल बनाउन सकिन्छ,’ पौडेलले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend