बुटवल, मङ्सिर ४। लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरिरहेका भौतिक पूर्वाधारका कामलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। उनीहरूले प्रदेशमा भइरहेका विकास निर्माणका कामलाई गुणस्तरीय बनाउँदै जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरी अगाडि बढाउन सरकारको ध्यान जानुपर्ने बताएका छन्।
बुटवलमा सेवा फाउन्डेसनले सरोकारवालाहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले प्रदेशका १० जिल्लामा सरकारले निर्माण गरेका आयोजनाहरूको अनुगमन गरेको जानकारी दिए। उनले अनुगमनका क्रममा ती विकास आयोजनामध्ये केही राम्रा र केही समस्याग्रस्त पाइएको बताए।
आवधिक योजनाअनुसार काम नभएको, आयोजना छनोटमा समेत कमजोरी देखिएकाले अब काम गर्दा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।सभापति घिमिरेले समितिले लुम्बिनी प्रदेशका रोल्पा र रुकुमबाहेक १० जिल्लामा गरेको अनुगमन प्रतिवेदन प्रदेश सभामा बुझाएको र अब सुरु हुने हिउँदे अधिवेशनमा यसबारे थप छलफल हुने जानकारी दिए। उनले प्रदेश सरकारले करिब ११ हजार आयोजना सञ्चालन गरेको उल्लेख गर्दै विकास आयोजनाको तथ्याङ्क स्पष्ट र व्यवस्थित हुनुपर्नेमा जोड दिए। सरकारले विकास ऐनको उचित कार्यान्वयन नगरेको, आयोजनाहरूको तथ्याङ्क व्यवस्थित नपाइएको र कतिपय आयोजनाहरू अलपत्र परेको लगायतका समस्या औँल्याए।
कार्यक्रममा बेलायती राजदूतावासको तथ्याङ्क टिम लिडर फ्रिडिका वट्रासीले तथ्याङ्कलाई व्यवस्थित गर्दै जनतासँग विकासलाई थप जोड्नुपर्ने आवश्यकतामाथि जोड दिइन्। जनताले प्रत्यक्ष लाभान्वित हुने गरी भौतिक विकासका क्षेत्रमा लगानी गर्न सरकार गम्भीर हुनुपर्ने उनले बताइन्।लुम्बिनी प्रदेशका पूर्व पर्यटन मन्त्री तथा प्रदेश सभा सदस्य खड्क बस्नेतले प्रदेश सरकारले सञ्चालन गरेका विकास आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सभाका समितिहरूको अनुगमन र निगरानी सशक्त हुनुपर्ने धारणा राखे। त्यस्तै, लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा। नहकुल केसीले सरकारले अघि बढाएका भौतिक विकासका कार्यहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend