२९ असार, काठमाडौं
नेपाली चिकित्सकको मात्र संलग्नतामा नेपालभित्र छैटौं व्यक्तिको कलेजो प्रत्यारोपण सफल भएको छ ।त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहयोगमा समेत गरेको कलेजो प्रत्यारोपण संख्या १५ पुगेको छ ।अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीका अनुसार पछिल्लो पटक नेपाली चिकित्सकको मात्र संलग्नतामा ३० वर्षका पुरुषको कलेजो प्रत्यारोपण भएको छ । उनलाई उनकै पत्नी २७ वर्षीया महिलाले कलेजो दान गरेकी हुन् ।
‘यो नेपाली सर्जनहरुको टोलीले मात्रै त्रिवि शिक्षण अस्पतालमा गरेको छैटौं प्रत्यारोपण हो । सम्रगमा त्रिविले १५ औं कलेजो प्रत्यारोपण हो’, डा. भण्डारीले भने, ‘कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पाइला अगाडि बढ्यो । उनले अहिले अंग लिने र दिने दुवैजनाको स्वास्थ्य अवस्था राम्रो रहेको बताए ।
गत २७ पुसमा पहिलो पटक स्वदेशी चिकित्सकहरुको समूहले मात्रै त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्दा त्यसअघि विदेशी चिकित्सकको सहयोगमा १० वटा प्रत्यारोपण भइसकेको थियो । त्यसयताको छ महिनामा नेपाली चिकित्सक टोलीले ६ वटा प्रत्यारोपणमा सफलता हासिल गरेको छ ।
नेपालमा पहिलो पटक २०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दक्षिण कोरियाबाट आएका प्रत्यारोपण शल्य चिकित्सकसहित टिमले कलेजो प्रत्यारोपण गरेको थियो ।
त्रिवि शिक्षण अस्पतालमा भने डा. भण्डारी अष्ट्रेलियाबाट कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आएपछि २०७६ जेठ १७ मा पहिलो कलेजो प्रत्यारोपण भएको थियो । २०७७ फागुनमा नेपालमै ११ महिनाको बालकमा पनि कलेजो प्रत्यारोपण भइसकेको छ ।यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरुको ठूलो साथ र सहयोग रहेको डा. भण्डारीले बताए ।
नेपाली चिकित्सकले नै सफल प्रत्यारोपण गरेसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । भारतमा ५० देखि ७० लाख रुपैयाँ खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाख रुपैयाँमा सम्भव हुनेछ ।
भण्डारीले स्वदेशी टिम सक्षम बनेपछि महिनामा एउटा प्रत्यारोपण नियमित हुँदै आएको र यसलाई बढाउँदै लानुपर्ने देखिएको बताए ।अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ । प्रत्यारोपण सेवालाई दिगो बनाउन नसके नेपालमा समस्या बढ्दै जाने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।
शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश बिरामीमाझ नपुग्नु, पुगे पनि नेपाली विशेषज्ञ टिमको क्षमतामा विश्वास स्थापित हुन नसक्नुलगायत कारण पनि सेवा विस्तारमा बाधक बनेको विज्ञ बताउँछन् ।यस्तै त्यसबाहेक कलेजो लिने–दिने व्यक्तिको रक्तसमूह, कलेजोको आकार, शरीरको बनावट, कानुनले निर्धारण गरेको पारिवारिक नाता नमिलेका कारण पनि कलेजो प्रत्यारोपण विस्तार हुन नसकेको उनीहरु बताउँछन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend