बुटवल । बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएसन, रुपन्देहीले आफ्नो ३१ औं स्थापना दिवस विभिन्न सामाजिक, वातावरणीय, स्वास्थ्य तथा खेलकुदमूलक कार्यक्रम सम्पन्न गर्दै बुधबार भव्य रूपमा समापन गरेको छ । “आफ्नो पेशाको सम्मान गरौं, अटो मेकानिक्स हुनुमा गर्व गरौं” भन्ने मूल नारासहित साउन ३ गतेदेखि सञ्चालन गरिएको एक साताव्यापी कार्यक्रमको सम्मान समारोहमार्फत सम्पन्न गरिएको हो ।
समारोहका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले अटो क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेकाले व्यवसायी तथा प्राविधिकहरू अब विद्युतीय (इभी) सवारीसाधनको मर्मत तथा प्रविधिमा दक्ष हुनुपर्ने बताए । विश्वभर इभी सवारीको प्रयोग बढ्दै गएको उल्लेख गर्दै उनले समयअनुसार सीप र प्रविधिलाई अद्यावधिक गर्न नसके प्रतिस्पर्धामा टिक्न कठिन हुने भएकाले अटो मेकानिक्सलाई आधुनिक प्रविधिमैत्री बन्न आग्रह गरे ।
एशोसिएसनका अध्यक्ष प्रेम गौचनले ३१ वर्षदेखि संस्थाले अटो व्यवसायीको हकहित, व्यावसायिक मर्यादा र दक्ष जनशक्ति उत्पादनका लागि निरन्तर काम गर्दै आएको बताए । उनले बदलिँदो प्रविधिसँगै सदस्यहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा इभी प्रविधिसम्बन्धी तालिम, सीप विकास तथा व्यवसाय प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइने जानकारी दिए ।
स्थापना दिवस सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, सहयोगी संस्था तथा शुभेच्छुकप्रति उनले आभार व्यक्त गरे । कार्यक्रममा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, अटोमेकानिक्स व्यवसायी महासंघका निवर्तमान अध्यक्ष जनार्दन गैरे, सामाजिक सुरक्षा कोष बुटवल रुपन्देही कार्यालयका प्रमुख केदार पोखरेल, एशोसिएसनका निवर्तमान अध्यक्ष तुल्सिराम न्यौपाने,
संरक्षण सल्लाहकार ज्योति भण्डारी, उपाध्यक्ष बाबुराम आचार्य तथा महासचिव पुनित पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै अटो क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै दक्ष जनशक्ति उत्पादन, सामाजिक सुरक्षा र व्यवसायको संस्थागत विकासमा जोड दिएका थिए ।
स्थापना दिवसको अवसरमा साउन ३ गते अटो भिलेज परिसरमा सरसफाई तथा डस्टबिन वितरण, साउन ४ गते बृहत् रक्तदान, साउन ५ गते वृक्षारोपण, साउन ८ गते व्याडमिन्टन प्रतियोगिता तथा साउन ९ गते फुटसल प्रतियोगितालगायतका कार्यक्रम सम्पन्न गरिएका थिए ।
सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण, रक्तदानमार्फत मानवीय सेवा र खेलकुदमार्फत सदस्यबीच आपसी एकता तथा भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एशोसिएसनले जनाएको छ । समापन समारोहमा स्थापना दिवस अन्तर्गत आयोजित विभिन्न कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सदस्य, सहयोगी तथा सक्रिय सहभागीहरूलाई सम्मानसमेत गरिएको थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend