logo
  • शुक्रबार, असोज ३० २०८३

विद्यार्थीको नेतृत्वमा लुम्बिनी बस टर्मिनल सरसफाइ, तीन टन फोहोर संकलन


  • शनिबार, साउन ९ २०८३

बुटवल, साउन ९ । बुटवल उपमहानगरपालिका र मैनादेवी फाउन्डेसनको सहकार्यमा नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका विद्यार्थीले आयोजना गरेको वातावरणीय प्रतिस्पर्धा कार्यक्रम शनिबार लुम्बिनी बस टर्मिनल, बुटवलमा सम्पन्न भएको छ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका–९ का वडाध्यक्ष प्रदीपकुमार श्रेष्ठले विद्यार्थीहरू वातावरण संरक्षण र बसपार्क सरसफाइमा सक्रिय भएकोमा प्रशंसा गर्दै सरसफाइलाई निरन्तरता दिन आग्रह गर्नुभयो। उहाँले बस टर्मिनल क्षेत्रका होटल तथा यातायात व्यवसायी, सवारी चालक र सहचालकलाई पान तथा गुट्खाका खोल जथाभावी नफाल्न र फोहोरको उचित व्यवस्थापन गर्न अनुरोध गर्नुभयो।

मैनादेवी फाउन्डेसनका प्रतिनिधि तपेश जैसीले बुटवलको सरसफाइलाई वातावरणीय प्रिमियर लिगको अवधारणाअनुसार अघि बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। बुटवलका १५ वटा शैक्षिक संस्थालाई लक्षित गरी कार्यक्रम तयार गरिए पनि १३ वटा विद्यालय मात्र सहभागी भएको उहाँले जानकारी दिनुभयो।

नवीन औद्योगिक कदरबहादुर रीता माविले लगनशीलताका साथ प्रभावकारी योजना बनाएर बस टर्मिनल सरसफाइमा अगुवाइ गरेको भन्दै जैसीले विद्यार्थीको मेहनतको प्रशंसा गर्नुभयो।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र भुसालले विद्यार्थीले अनुशासनपूर्वक स्थल छनोट गरी उत्कृष्ट कार्यक्रम आयोजना गरेको भन्दै प्रशंसा गर्नुभयो। नेपाल होटल तथा रेस्टुरेन्ट व्यवसायी महासङ्घ रुपन्देहीका अध्यक्ष माधव खनालले लुम्बिनी बस टर्मिनललाई छनोट गरी देशभर सन्देश जाने गरी कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थीको व्यवस्थापन र नेतृत्वमा कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी हप्ता विद्यार्थीहरूको समीक्षा बैठकपछि थप सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

विद्यालयको शिक्षा समूह कक्षा १२ का विद्यार्थी विजय क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नवीन विद्यार्थी क्लबकी अध्यक्ष तथा विज्ञान समूह कक्षा १२ की विद्यार्थी लक्ष्मी पाण्डेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विज्ञान समूह कक्षा १२ का विद्यार्थी प्रमोद आचार्यले कार्यक्रमको औचित्यमाथि धारणा राख्नुभएको थियो भने कानुन समूह कक्षा ११ का विद्यार्थी विशाल पाण्डेले जनचेतनामूलक कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा व्यवस्थापन समूहका ११२, शिक्षा समूहका २२, कानुन समूहका १९ र विज्ञान समूहका ८ गरी विद्यालयका १६१ विद्यार्थी सहभागी थिए। कार्यक्रममा मैनादेवी फाउन्डेसनका फोकल पर्सन शिक्षक निलकण्ठ न्यौपाने, कक्षा ११–१२ का ईसीए इन्चार्ज नेत्र खरेल, विद्यालय कर्मचारी परिषद् बुटवलका अध्यक्ष देवराज चौधरी, सवारी चालक थमबहादुर थापा र विद्यालय सहयोगी आशा चौधरीलगायतको सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठले विद्यालयको तर्फबाट पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध निर्देशक भुसाललाई बुटवल उपमहानगरपालिका, मैनादेवी फाउन्डेसन र नवीन औद्योगिक कदरबहादुर रीता माविको पहिचानसहितको डस्टबिन हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका कर्मचारी, बुटवल यातायात प्रणालीका कर्मचारी, बुद्ध टोल विकास समितिका पदाधिकारी तथा नयाँ बसपार्क प्रहरी बिटका प्रहरीहरूको सहभागिता थियो। सरसफाइका क्रममा संकलन भएको करिब तीन टन फोहोर बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend