logo
  • शुक्रबार, असोज ३० २०८३

गुणस्तरीय शासनका लागि अन्तर-सरकार साझेदारी आवश्यक


  • आइतबार, जेष्ठ ३१ २०८३

बुटवल । गुणस्तरीय शासनका लागि तीन तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

आइतबार सामाजिक परिवर्तन केन्द्रले बुटवलमा आयोजना गरेको ‘नेपालमा गुणस्तरीय शासनका लागि साझेदारी प्रवर्धन’ विषयक लुम्बिनी प्रदेश स्तरीय संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय नहुँदा सेवाग्राहीहरूमा निराशा बढिरहेको बताएका हुन्।

कार्यक्रममा अनुसन्धानात्मक प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक परिवर्तन केन्द्रका कार्यकारी निर्देशक डा. प्रकाश भट्टराईले शासन सञ्चालनको क्रममा देखिएका द्वन्द्व न्यूनीकरणका लागि नागरिकको संलग्नता बढाउनुपर्ने बताए।

उनले अन्तर-सरकार साझेदारी, राज्य/नागरिक साझेदारी, डिजिटल शासन साझेदारी र खुला सरकार साझेदारी आजको आवश्यकता रहेको औंल्याए।

कार्यकारी निर्देशक डा. भट्टराईले अहिलेसम्म अभ्यास भइरहेको औपचारिक संघीयताबाट कार्यात्मक संघीयता तर्फ शासन प्रक्रियालाई लैजानु अपरिहार्य भइसकेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले जनताका आवश्यकता पूरा गर्नका लागि आवश्यकता अनुसारको कानुन बनाउनुपर्ने बताए।

nnn

उनले संघ सरकारले सबै अधिकार आफैँसँग राख्न खोज्दा र प्रदेश सरकारले जनअपेक्षालाई पूर्ण रूपमा सम्बोधन गर्न नसक्दा संघीयतामाथि नै समस्या सिर्जना भएको बताए।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले संघ सरकारले स्थानीय तहलाई दिने अनुदान कटौती गरेको भन्दै एक्लै सबै काम गर्छु भन्ने सोचले नागरिकमा थप अन्यौलता र निराशा बढाउने बताए।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले तीन तहका सरकार बीचमा द्वन्द्व रहेको बताउँदै कानुनको पालना र अधिकारको क्षेत्राधिकार सम्बन्धी विषयहरूलाई आपसी समझदारीको माध्यमबाट सुल्झाउनुपर्ने बताए।

लुम्बिनी प्रदेशका मुख्यन्यायाधिवक्ता यमलाल खनालले लुम्बिनी प्रदेश सरकारले रणनीतिक योजना बनाएर अघि बढेको बताउँदै कतिपय विषयमा संघ सरकारले कानुनी रूपमा सहयोग नगर्दा समस्या उत्पन्न हुने गरेको बताए।
उनले गुणस्तरीय शासन सञ्चालनका लागि तीन तहका सरकार परम्परागत तरिकाले अघि बढे जनताका आवश्यकता पूरा नहुने बताउँदै जनअपेक्षा अनुसार कानुन निर्माण गर्दै सोही अनुसार काम गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश राना, नेकपाका केन्द्रीय सदस्य शरद वली, रास्वपा बुटवल उपमहानगरका सचिव चन्द्रकान्त शर्माले गुणस्तरीय शासन प्रवर्धनका लागि आफूहरू सहकार्य गर्न तयार रहेको बताए।

अनुसन्धानकर्ता अनिस खत्रीले विकास तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने लाभहरूको न्यायसङ्गत वितरण भएन भने द्वन्द्वका घटनाहरू बढ्ने भएकाले तीनै तहका सरकारले ध्यान पुर्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। ८ का अध्यक्ष यज्ञप्रसाद पङ्गेनी, शुद्धोधन गाउँपालिका वडा नं। ५ का अध्यक्ष चन्द्रभान चौधरी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्राध्यापक सुरेन्द्रराज ज्ञवाली, सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष सुमित्रा आचार्य, मिलन टोल विकास संस्थाकी अध्यक्ष पुनम रजाली, रङ्गशाला टोल विकास संस्थाका ज्योति जीसी, फर्साटिकर खानेपानी तथा सरसफाइ संस्थाका पूर्वसचिव नन्दु भट्टराई लगायतले तीन तहका सरकार जनमैत्री भएमा मात्रै गुणस्तरीय शासन सम्भव हुने बताए।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend