logo
  • शुक्रबार, असोज ३० २०८३

पर्यावरण समाजको बृहत् सरसफाइ, नुवाकोट जङ्गलमा ८० क्विन्टल फोहर संकलन


  • शनिबार, जेष्ठ २३ २०८३

बुटवल । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत शान्तिचोकदेखि माथि रहेको नुवाकोट क्षेत्रको जंगलमा बृहत सरसफाई गरिएको छ । शनिबार पर्यावरण समाजको आयोजनामा सञ्चालन गरिएको वृहत् जंगल सरसफाइ अभियानमा १ हजार २ सयभन्दा बढी नागरिक  सहभागी थिए ।

सरसफाइमा स्थानीय टोल विकास संस्था, आमा समूह, बाल क्लब, युवा समूह, योगा तथा जुम्बा समूह, सामाजिक संघसंस्था, विद्यार्थी, शिक्षक, व्यवसायी, सुरक्षाकर्मी र सर्वसाधारण सहभागिता रहेको थियो ।  बुटवलको शान्तिचोकदेखि माथिल्लो क्षेत्रमा करिब तीन किलोमिटर दूरीसम्म फैलिएको जंगल क्षेत्रबाट ठूलो परिमाणमा प्लास्टिक, चाउचाउका खोल, पानीका बोतल, मदिराका सिसा, कागज, फोहर संकलन गरिएको छ ।

पर्यावरण समाजका अध्यक्ष गंगा पोखरेलले वातावरण संरक्षण कुनै एक संस्था वा सरकारी निकायको जिम्मेवारी मात्र नभएको बताए । उनका अनुसार समाजले सामाजिक सञ्जालमार्फत अभियानमा सहभागी हुन सार्वजनिक आह्वान गरेको थियो । अपेक्षाभन्दा धेरै नागरिकको साथ पाएपछि अभियानले ठूलो स्वरूप लिएको उनले बताए । ‘हामीले जंगल सफा गर्न मात्र खोजेका होइनौं, वातावरणप्रति नागरिक जिम्मेवारीको सन्देश दिन खोजेका हौं,’ पोखरेलले भने, ‘यति धेरै मानिस स्वतःस्फूर्त रूपमा सहभागी हुनु सकारात्मक संकेत हो ।’

यस्तै उपाध्यक्ष अर्जुन ज्ञवालीले सरसफाइ अभियानले नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै वातावरणीय चेतना अभिवृद्धिका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । उनले बृहत् सरसफाइ अभियानले आम नागरिकमा स्वच्छता र वातावरण संरक्षणप्रति जागरण ल्याउने विश्वास व्यक्त गरे ।  अभियानका क्रममा जङ्गल क्षेत्रबाट करिब ८० क्विन्टल फोहर संकलन गरिएको बताए ।

अभियानमा नेपाल प्रहरी तथा बुटवल उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीको समेत सक्रिय सहभागिता थियो । बुटवल उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख देवका पोखरेलले नागरिक र संस्थाहरूको सहकार्यबाट वातावरण संरक्षणका प्रभावकारी अभियान सञ्चालन गर्न सकिने उदाहरण नुवाकोट अभियानले प्रस्तुत गरेको बताइन् ।

भैरव योगा जुम्बा टिमका राजकुमार थापाले जंगल सफा गर्नु राम्रो सुरुवात भए पनि अब फोहर हुनै नदिने प्रणाली विकास गर्नुपर्ने बताए । उनका अनुसार स्थानीय सरकारले सामाजिक संघसंस्था, टोल विकास संस्था र स्थानीय बासिन्दासँग सहकार्य गरेर नियमित निगरानी प्रणाली विकास गर्नुपर्छ ।

‘आज हामीले फोहर उठायौं । भोलि फेरि त्यहीँ फोहर थुप्रियो भने यसको अर्थ रहँदैन,’ उनले भने, ‘निगरानी टोली बनाउने, फोहर व्यवस्थापन केन्द्र राख्ने र जनचेतना बढाउने काम अब सँगसँगै जानुपर्छ ।’ अभियानमा समन्वयको भूमिका निर्वाह गरेका अर्जुन ज्ञवाली र कृष्ण गाउँलेले यो अभियान कुनै व्यक्ति वा संस्थाको नभई सम्पूर्ण सहभागीहरूको साझा अभियान बनेको बताए ।

उनीहरूका अनुसार नागरिक आफैंले जिम्मेवारी महसुस गरेपछि मात्र वातावरण संरक्षण सम्भव हुन्छ । सरसफाईमा सहभागी विष्णुमाया श्रेष्ठले सार्वजनिक वन क्षेत्रको संरक्षण सबैको साझा दायित्व भएको बताउँदै जथाभावी फोहर गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् । स्थानीय ज्ञानहरी बन्जाडेले डाँडामा पुग्ने केही समूहबाट मदिराजन्य पदार्थको अत्यधिक प्रयोग र बोतल फुटाएर फाल्ने प्रवृत्तिले समस्या बढाएको बताए ।

पाणिनी पार्कका अध्यक्ष ऋषि आजादले नुवाकोट क्षेत्र बुटवलको महत्वपूर्ण प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणमा समुदायको भूमिका निर्णायक हुने बताए । उनका अनुसार यो क्षेत्रबाट बुटवल उपत्यकाको आकर्षक दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकीय सम्भावना पनि उत्तिकै छ । तर फोहरको बढ्दो समस्या समाधान गर्न नसकिए त्यो सम्भावना संकटमा पर्न सक्छ । ‘एक दिनको अभियानले जंगलको ठूलो क्षेत्र सफा गर्‍यो । सयौं बोरा फोहर संकलन भयो । तर अभियानले उठाएको प्रश्न अझ ठूलो छ । जंगलमा भेटिएको फोहर बाहिरबाट आएको होइन । त्यहीँ घुम्न पुगेका मानिसहरूले छाडेका हुन् । प्रकृतिको आनन्द लिन जाने मानिसहरू नै प्रकृतिका लागि खतरा बन्नु विडम्बना हो,’ उनले भने ।

‘नुवाकोटको जंगलमा शनिबार देखिएको १ हजार २ सय नागरिकको सहभागिताले एउटा आशा भने जगाएको छ । वातावरण बिगार्ने मानिसहरूको संख्या जति भए पनि त्यसलाई जोगाउन तयार नागरिकहरूको संख्या अझ ठूलो छ भन्ने सन्देश अभियानले दिएको छ । अब आवश्यकता त्यो उत्साहलाई एकदिने कार्यक्रममै सीमित नराखी निरन्तर अभियानमा रूपान्तरण गर्नु हो,’ अभियानकर्ताको भनाइ छ ।

‘जंगल सफा भयो । सयौं बोरा फोहर हटाइयो । तर वास्तविक सफलता त्यतिबेला हुनेछ, जब नुवाकोट पुग्ने मानिसहरूले आफ्नो हातबाट निस्किएको एउटा प्लास्टिकको टुक्रा वा एउटा सिसाको बोतल पनि जंगलमा छाड्न लाज मान्नेछन् । त्यस दिन मात्र नुवाकोटको जंगल साँच्चिकै सफा भएको मानिनेछ,’ अभियान्ता ऋषि आजादले भने ।

बुटवल १३ बेलवास शान्तिचोकबाट ८ किलोमिटर उकालो हिंडेपछि नुवाकोट पुगिन्छ । जंगलैजंगल हुँदै त्यहाँ जाने सबै बाटो पक्की छ । करिब ७ डिग्री तापक्रम कम हुने भएकाले तलको गर्मी छल्न ठूलो संख्यामा माथि जाने र बस्ने गर्दछन् । सबै जंगल क्षेत्र भएकाले धेरैजसो त्यसै बसेर खाजा खाने रमाइलो गरेर गर्मी छल्ने गर्दछन् । त्यसरी बस्नेहरुले बढी फोहर बनाएको र त्यसलाई व्यवस्थि गर्न नसकेको अभियान्ता डिआर घिमिरे बताउँछन् ।

उनका अनुसार त्यहाँ जाने हरेकलाई वातावरण र सरसफाइका विषयमा सचेत बनाउनुपर्ने, ठाउँठाउँमा फोहर संकलन केन्द्र बनाइनुपर्ने र निगरानी बढाउन नसके यसलाई रोक्न संभव छैन । यसका लागि स्थानीय सरकार तथा स्थानीय संघसंस्थाले समन्वय गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रमको सञ्चालन सचिव कृष्ण गाउलेले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend