logo
  • शुक्रबार, असोज ३० २०८३

गणतन्त्र स्थापनाकाे १९औँ वर्ष, आज गणतन्त्र दिवस मनाइदै


  • शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौँ । आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनकाे रूपमा आज गणतन्त्र दिवस मनाइदै छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बनेको थियो ।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो ।

संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

आज गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुदैछ । गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट मार्चपास्ट र विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ ।

गणतन्त्रको १८ वर्ष पूरा भई १९औँ वर्षमा प्रवेश गरिरहँदा नागरिकका अपेक्षाहरू अझ बढेका छन् । राजनीतिक अधिकारको प्राप्तिपछि अब आर्थिक समृद्धि, सुशासन र नागरिकको जीवनस्तरमा सुधार ल्याउनु नै गणतन्त्रको मुख्य कार्यभार रहेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend