logo
  • शुक्रबार, असोज ३० २०८३

भैरहवामा ३९.८ डिग्री तापक्रम : कहाँ कति मापन गरियो ?


  • शनिबार, जेष्ठ ९ २०८३

बुटवल । पछिल्ला दिन देशका धेरै भूभागमा गर्मी बढेको छ । कतिपय स्थानमा बेलाबखत वर्षा पनि भइरहेको छ । विशेष गरी पश्चिम तराई भूभागमा गर्मी अत्यधिक बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा पनि तापक्रम बढ्दो छ । शनिबार (जेठ ९) काठमाडौंको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार (जेठ ८) काठमाडौंको अधिकतम तापक्रम ३० डिग्री थियो । बिहीबार (जेठ ७) काठमाडौंको अधिकतम तापक्रम २८.८ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

यस दिन विभागले सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.५ डिग्री छ । नेपालगन्जको अधिकतम तापक्रम शुक्रबार ३८.८, बिहीबार ४१.५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

शनिबार भैरहवाको अधिकतम तापक्रम ३९.८, धनगढीको ३९.६, दिपायलको ३९.२, सिमराको ३७.७, घोराहीको ३६.४, जनकपुरको ३६.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा तीन दिनसम्म मध्यम तातो लहरको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।

यति बेला देशभर साधारणतया बादल लागेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित ‘मध्यम’सम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

“हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ,” महाशाखाले भनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend