भैरहवा, असार २२ ।
रुपन्देहीमा जिल्ला बजार अनुगमन समितिले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान विक्री गरेको, मूल्यसूचि, साइनबोर्ड, खरिदविक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नविकरण नगरेको, खुद्रा विक्रीको अनुमती लिएर थोक विक्रेताका रुपमा कारोबार गरेको, नापतौल अनुमती नलिएको, लेबल नभएका खाद्यवस्तु विक्री गरेको पाइएपछि ६ वटा पसललाई कारबाहीस्वरुप जरिवना गरिएको अनुगमन समितिका संयोजक समेत रहेका रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
अनुगमन समितिले शुक्रबार रुपन्देहीका सिद्धार्थनगर वडा नम्बर ६ र ४ का किराना, होलसेल तथा आलुप्याजका थोक तथा खुद्रा विक्रेता र चामल मिलमा अनुगमन गरेको थियो । उपभोक्ता हीत संरक्षणविपरीत कारोबार गरेको पाइएपछि कानूनी दायरामा ल्याइएको समितिले जनाएको छ । यस्तै, अनुगमन समितिले केही पसलबाट चिनी, किसमिस, चुक लगायतका खाद्यान्न सामाग्री जफत समेत गरेको छ ।
जरिवनामा पर्नेमा सिद्धार्थनगर–६ कै शिवान्स जनरल स्टोर्स, दुर्गा अम्बे स्टोर्स, विजय किराना पसल, तेजस–विनी स्टोर्स र देविका किराना स्टोर्स छन् । समितिले शिवान्सलाई १५ हजार र अन्यलाई जनही १० हजारका दरले जरिवाना गरेको छ । यी पसहरुबाट चिनी, किसमिस, चुक लगायतका खाद्यान्न बरामद समेत गरिएको छ ।

© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend