logo
  • शुक्रबार, असोज ३० २०८३

सुकुम्वासीलाई राखिनेछ सरकारी अपार्टमेन्टमा, पाँच ठाउँमा ८७१ ‘अनधिकृत’ घरधुरी


  • शनिबार, बैशाख १२ २०८३

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका घरटहरा खाली गराउने कार्य जारी राखेको छ ।

शनिबार (वैशाख १२)  काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराइएको छ । काठमाडौं–९, गैरीगाउँ र वडा नम्बर–३१, शान्तिनगरस्थित सुकुम्वासी बस्ती पनि खाली गर्ने क्रम जारी रहेको प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को सचिवालयले जनाएको छ ।

यस्तै, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार, बुद्धचोक र वडा नम्बर–९ को मनोहरा टोलका अनधिकृत बस्ती खाली गर्ने सरकारको तयारी छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकानुसार, शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ ‘अनधिकृत’ घरधुरी रहेकामा केही भत्काइएको छ ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“यी क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ,” सचिवालयले भनेको छ ।

हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् । अरू स्थानबाट पनि यसरी सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटेलमा राख्ने तयारी छ ।

“हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

होटेलमा राखिने परिवार वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबार (वैशाख १३) देखि थालिने जनाइएको छ । “वास्तविक सुकुम्वासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर–१ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने जानकारी गराइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend