बुटवल । नेपाली काँग्रेसले बदलिएको सन्देश सहित चुनावी अभियानमा जुटेको छ । यसैसन्दर्भमा रुपन्देहीको क्षेत्र नं। २ मा पनि नेपाली काँग्रेसले पार्टीका नेता कार्यकर्तालाई पार्टीमा नेतृत्वसंगै कार्यशैली पनि बदलिएको सन्देश दिएको हो ।
चुनावी प्रचारप्रसारका कार्यक्रम सुरु हुनु अगाडि नेपाली काँग्रेसले यस क्षेत्रमा पार्टीका आन्तरिक गतिविधिलाई तिब्र पारेको छ ।
रुपन्देहीमा २ मा नेपाली काँग्रेसको तर्फबाट वरिष्ठ उद्योगी समाजसेवी चुन्नप्रसाद पौडेल चुनावी मैदानमा छन् । देशको विकास र समृद्धिकालागि नेपाली काँग्रेसको जित अनिवार्य रहेको कुरालाई मनन गरी पार्टीका उम्मेद्वारलाई जिताउने गरी रणनीति बनाई अगाडि बढिएको नेपाली काँग्रेस क्षेत्र नं। २ रुपन्देहीका सभापति तथा प्रचारप्रसार मुल समितिका संयोजक प्रजापाल गिरीले बताए ।
त्यसै अन्तरगत चुनावी प्रचारप्रसारको कार्यक्रम सुरु हुनुभन्दा अगावै यस क्षेत्रका २३ वटै वडामा वडा स्तरीय प्रचारप्रसार कार्यालय स्थापनाको काम अन्तिममा पुगेको पनि उनले जानकारी गराए । सोही अनुसार बुधबार मात्रै बुटवल उपमहानगरपालिकाको वडा नं। ९ र १२ मा वडा स्तरीय प्रचार कार्यालय उद्घाटन गरिएको छ ।
वडा स्तरिय प्रचार कार्यालयको उद्घाटनका क्रममा यस क्षेत्रमा उम्मेदवार चुन्नप्रसाद पौडेलले काँग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने भएकाले काँग्रेस नेतृत्वका सरकार बनाउनका लागि पनि आफूलाई जिताउन आग्रह गरे । उनले यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकास आफ्नो पहिलो प्राथमिकता हुने बताउँदै त्यसका लागि पनि आफूलाई जिताउन आम पार्टीको नेता, कार्यकर्ता सहित आम मतदातालाई अपिल गरे ।
२००७ सालयता मुलुक संकटमा पर्दा काँग्रेसले नै निकास दिएको स्मरण गराउँदै उनले वर्तमान चुनौतीको समाधान पनि काँग्रेस नेतृत्वबाटै सम्भव हुने विश्वास व्यक्त गरे । जेनजी युवाहरूको भावना र अपेक्षाअनुसार देशलाई अघि बढाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले जेनजी आन्दोलनपछि काँग्रेसले आत्मसमीक्षा गर्दै आफूलाई रूपान्तरण गरेको बताए । ‘बद्लिएको काँग्रेसले अब देशको अवस्था बदल्नेछ,’ उनलेल भने ।
कार्यक्रममा क्षेत्रीय सभापति प्रजापाल गिरीले जेनजी विद्रोहपछि काँग्रेस नयाँ सोचसहित अघि बढेको उल्लेख गर्दै चुनावपूर्व हुने गठबन्धन संस्कृतिको अन्त्य गर्नु बदलिएको काँग्रेसको संकेत भएको दाबी गरे । उनले प्रोपोगान्डा र निराशा फैलाएर राजनीति गर्ने प्रवृत्तिविरुद्ध काँग्रेस स्पष्ट योजना र ‘दैनिक क्यालेन्डर’ सहितको कार्यक्रम लिएर चुनावमा होमिएको बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend