काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकाले निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको जबरजस्ती गिरफ्तारीप्रति चीन गम्भीर रूपमा चिन्तित रहेको बताएका छन् ।
चीनले अमेरिकासँग मादुरो र उनकी पत्नीको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई बिनासर्त तुरुन्त रिहा गर्न आग्रह गरेको छ ।
बेइजिङले कुनै सार्वभौम राष्ट्रविरुद्ध यस्तो बल प्रयोग केवल संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन नभएर यो ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको शान्तिका लागि ठूलो खतरा भएको चेतावनी दिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले यो विषयमा प्रतिक्रिया दिँदै भने, “कुनै पनि देश विश्वको प्रहरी वा न्यायाधीश बन्न सक्दैन ।” उनले अमेरिकाको यो कारबाहीलाई ‘एकतर्फी दादागिरी’ भन्दै कुनै देशको इच्छा अर्कोमा थोपर्नु अन्तर्राष्ट्रिय सम्बन्धहरूको आधारभूत सिद्धान्तविपरीत भएको बताए ।
चीनले भेनेजुएलाको सरकारसँग आफ्नो सहयोग जारी राख्ने र यो संकटलाई सैन्य हस्तक्षेप होइन, वार्ता र कूटनीतिमार्फत समाधान गर्न जोड दिने स्पष्ट पारेको छ ।
चीन र भेनेजुएलाबीच विगत दुई दशकदेखि गहिरो रणनीतिक र आर्थिक साझेदारी छ । चीन भेनेजुएलाको तेलको प्रमुख खरिदकर्ता हो । त्यहाँको सबैभन्दा ठूलो करदाता र लगानीकर्ता पनि चीन हो । रुस, इरान र ब्राजिलजस्ता देशहरूले पनि चीनको स्वरमा सुर मिलाउँदै अमेरिकी कारबाहीलाई निन्दा गरेका छन् ।
अहिले निकोलास मादुरोलाई न्युयोर्कको एउटा जेलमा राखिएको छ । उनीहरूलाई पहिलोपटक अदालतमा पेस गरिएको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् ९यूएनएससी०मा पनि यो विषयमा आपतकालीन बैठक बोलाइएको छ । द नेसनलन्युज ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend