बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू र केन्द्रीय कार्यकारिणी सदस्यमा संघका अध्यक्ष हरिप्रसाद अर्यालललाई अगाडि सारेको छ ।
संघको सोमबार बसेको कार्यसमिति बैठकले महासंघ लुम्बिनी प्रदेशको आठौं प्रदेश सभामा अध्यक्ष पदको लागि संघका निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा महासंघको कर, राजश्व तथा भन्सार समितिका उपसभापति समेत रहेका कसजूलाई अगाडि सार्ने निर्णय गरेको हो । त्यस्तैगरी संघका अध्यक्ष अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा खुल्ला तर्फबाट कार्यकारिणी सदस्य पदमा उम्मेद्वारी दिन निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।
महासंघको प्रदेश अध्यक्षका उम्मेदवार कसजू र केन्द्रीय कार्यकारिणी सदस्य पदका उम्मेदवार अर्यालले महासंघको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरुको हकहित, साना तथा मझौला उद्योगीलाई सम्वर्द्धन तथा प्रोत्साहन र उद्यमशिलता विकासका कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गरे । त्यसका लागि जिल्ला नगर उद्योग वाणिज्य संघ, उद्योग व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ र तीनै तहका सरकारसँग समन्वयकारी भूमिका निर्वाहन गर्ने उनीहरुले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा अधिवेशन आगामी चैतको २८ र २९ गतेलाई तय गरिसकेको छ भने प्रदेशको अझै मिति तय भईसकेको छैन । यद्यपी महासंघको भन्दा पहिले प्रदेशको अधिवेशन भईसक्ने उनले बताए । बैठकमा आगामी माघमा बुटवलमा आयोजना गरिने कृषि मेला तयारीका सम्बन्धमा हालसम्म भएका प्रगतीका बारेमा अध्यक्ष अर्यालले जानकारी गराएका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend