बुटवल । नेपालकी कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिहं पुनले लुम्बिनी प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सभापति पुनले सरकारमा कांग्रेस सहभागि रहेता पनि लुम्बिनी प्रदेशमा सरकार नै नभए जस्तो भएको बताए । बुधबार बुटवलमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले मुख्यमन्त्री चेतनारायण आचार्यको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे ।
‘लुम्बिनी प्रदेश सरकारले जे गर्नु पर्ने हो, त्यो गरेको छैन्, अहिलेको अवस्थामा नागरिकले परिणाम देखिने गरी सरकारबाट अपेक्षा गरेका छन्, तर सरकारले त्यो गर्न नसक्दा यहाँको सरकार सरकार जस्तै नै देखिएको छैन्,’–उनले भने ।
लुम्बिनी प्रदेश सरकारको काम गराईं बारे आफुले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर पनि सोही कुरा बताए । मुख्यमन्त्री अहिले एमालेको महाधिवेशनका लागि काठमाडौँ भएकाले आएपछि आफुले पुन भेटेर सरकारको कार्यशैली सुधार गर्न आग्रह गर्ने बताए । ‘मैले मुख्यमन्त्रीलाई भेटेर पनि भनेको छु, अब उहाँ काठमाडौँबाट आएपछि पनि फेरि कुराकानी गर्छु, कांग्रेसबाट मन्त्री बनेकाहरुको पनि काम गराई राम्रो छैन्,’– उनले भने ।
सभापति पुनले सहमति अनुसार अब चैतमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीप्रसाद चौधरीको नेतृत्वमा सरकार बन्ने बताए ।
‘सहमति अनुसार उहाँले अबको केही महिना भित्र सरकार छोडनु पर्छ, त्यस पछि प्रदेशको नेतृत्व कांग्रेसले लिन्छ,’– उनले भने । यस्तै सभापति पुनले तोकिएको मितिमा महाधिवेशन नभए विशेष महाधिवेशन हुने बताए । ‘महाधिवेशन तोकिएको समयमा नै हुनु पर्छ, यदि संस्थापन पक्षले विभिन्न बहानामा महाधिवेशन तल माथि गर्न खाजे विशेष महाधिवेशन हुन्छ,’– पुनले भने ।
साथै उम्मेद्वार सिफारिसमा अहिले लुम्बिनी विना विवाद नै भएको दाबी गरे । ‘रुपन्देही ५ सहितका केही ठाउँमा विवाद देखिए पनि अन्य ठाउँमा सहमति नै उम्मेद्वार सिफारिस भएको छ, पहिला जस्तो अहिले विवाद भएन्’– उनले भने ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend