logo
  • शनिबार, कार्तिक १ २०८३

बुटवलमा सञ्चालित विजनेश इन्कुवेशनको समापन : १४ नवउद्यमीले लिए लाभ


  • शुक्रबार, मंसिर १३ २०८२

बुटवल । बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको विजनेश इन्कुवेशन कार्यक्रमको शुक्रबार समापन गरिएको छ । गएको बैशाखबाट सुरु गरिएको तेस्रो चरणको विजनेश इन्कुवेशनको शुक्रबार औपचारिक रुपमा समापन गरिएको हो ।

यो विजनेश इन्कुवेशनमा सहभागी हुनका लागि २४ जना नवउद्यमीले आवेदन दिएकोमा १४ जनालाई छनौट गरि सहभागि गराईएको संघले जनाएको छ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको आर्थिक सहयोगमा सञ्चालन गरिएको विजनेश इन्कुवेशनमा प्राकृतिक, स्थानीय स्तरमा पाईने, खेर गईरहेका बस्तुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर उद्यम सुरु गरेका नवउद्यमीहरुलाई सहभागि गराईएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए । नवउद्यमीका लागि पनि यो एउटा राम्रो अवसर भएको उनको भनाई छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले नेपालभर करिव ४० वटा विजनेश इन्कुवेशन केन्द्र स्थापना भएको जानकारी गराउँदै अहिले बुटवल उद्योग वाणिज्य संघले मात्रै तालिम कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग गरेकोमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु तथा साना उद्योग प्रवर्द्धन केन्द्रलाई धन्यवाद व्यक्त गर्दै नवउद्यमीहरुलाई शिड मनीको रुपमा आर्थिक सहायता प्रदान गर्न पनि सरकारसँग आग्रह गरे ।

देशमा उद्यमशिलता विकासको आवश्यकता रहेकोमा जोड दिँदै नवउद्यमी युवाहरुलाई स्वदेशमा रोक्नका लागि पनि उद्योग व्यापार व्यवसायको विस्तारका लागि शिड मनी आवश्यक रहेको उनले बताए ।

लघु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका प्रमुख सहसचिव वेदप्रसाद खरेलले नेपालमा नेचुरल रिसोर्सेसको आधारमा सञ्चालन गरिने उद्योग दीगो र भरपर्दो हुनसक्ने बताए । उनले नेचुरल रिसोर्सेसका आधारमा बजारको माग अनुसारका बस्तुको उत्पादनले मागको पूर्ति पनि हुने र उद्योग पनि चल्ने बताउँदै प्राकृतिक स्रोत साधनमा आधारित भएर खेर जाने बस्तुको प्रयोग गरेर उद्योगको सुरुवातले अरु उद्यमीहरुलाई पनि सकारात्मक सन्देश दिएको बताए ।

सहसचिव खरेलले सरकारले गर्न नसकेको काम निजी क्षेत्रले गरिरहेको बताउँदै निजी क्षेत्रको रचनात्मक गतिविधिले सरकारलाई पनि सहयोग मिलेको भनाई राखे । उनले नवउद्यमीहरुलाई छिमेकी भारत र चिनका उद्योगीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले गुणस्तरीय प्रतिस्पर्धी क्षेमताका बस्तुको उत्पादन गर्न आग्रह गरे ।

संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले उद्यमशिलता विकासका लागि विजनेश इन्कुवेशन कार्यक्रम प्रभावकारी भएको बताउँदै बजेटमा निरन्तरता दिन आग्रह गरे । त्यस अवसरमा संघका पूर्वअध्यक्ष अर्जुनमान सैंजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, रुपन्देही व्यापार संघका सचिव मनहरी बस्याल लगायतले नवउद्यमीलाई उद्यमशिलता विकाससँगै सरकारले लगानी गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने र निजी क्षेत्रको मनोवल पनि बढाउनु पर्ने भनाई राखे । विजनेश इन्कुवेशन कार्यक्रममा सहभागि नवउद्यमीहरुले आ-आफ्नो उद्योगका उत्पादनको डेमोस्ट्रेसनसहित उत्पादित वस्तुको बारेमा जानकारी गराएका थिए । त्यस्तै आवश्यक थप लगानीका लागि सहायता माग गरेका थिए ।

बुटवल उद्योग वाणिज्य संघले २०७६ सालमा विजनेश इन्कुवेशन सेन्टर स्थापना गरि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अगाडि पनि संघले २ पटक यो कार्यक्रम सञ्चालन गरिसकेको थियो ।

ती कार्यक्रममा सहभागिहरु राम्रो उद्यम सञ्चालन गरिहेको संघले जनाएको छ । विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन अवधिमा मास्टर क्लास, व्यवसायिक विकास सम्बन्धि कोचिङ, डिजिटल मार्केटिक तालिम, व्यवसाय दर्ता तथा ऐन कानुन सम्बन्धि कुराहरुको समेत प्रशिक्षण गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराए ।

उाका अनुसार विजनेश इन्कुवेशनमा सहभागि नवउद्यमीहरुलाई व्यवसायका व्यवहारिक कुराहरु, उत्पादित वस्तुको बजार, उपभोक्ता (ग्राहक), वस्तु विकास, वस्तुको बजार परीक्षण, बजारका लागि सञ्जाल विस्तार, बजारीकरणका सीप लगायतका कुराहरु सिकाईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend