बुटवल १० मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति, रुपन्देहीले विभिन्न २८ बुँदे मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीको जिल्ला अध्यक्ष सियाराम यादवको नेतृत्वमा आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएको हो ।
संविधान संशोधन, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने, जेनजी युवा पुस्ताले आन्दोलनका दौरान उठाएका माग र मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने, विगतका आन्दोलनको बेला गठन गरिएका न्यायिक छानबिन आयोगहरूको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, किसानहरूलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउनुपर्ने, सिँचाई, मल खाद, बिउ बिजन, किटनाशक औषधि र कृषि बजारको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले प्राप्त ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाउने जनाएका थिए । पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाइएको जसपा नेपाल रुपन्देहीका सचिव विष्णु अधिकारीले बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend