logo
  • शनिबार, कार्तिक १ २०८३

 तिलोत्तमा नगरपालिकालाई महिलामैत्री, सुरक्षित र समावेशी सहरका रूपमा विकास गर्न  सम्झौता 


  • शुक्रबार, मंसिर ६ २०८२

बुटवल , मङ्सिर  ५
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई महिलामैत्री, सुरक्षित र समावेशी सहरका रूपमा विकास गर्न औपचारिक सम्झौता गरिएको छ। तिलोत्तमा नगरपालिका, फिनल्यान्ड सरकारको सहयोगमा युनोप्सका प्रतिनिधिहरू तथा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबिच समावेशी सोच, स्थानीय सहभागिता र महिला–अनुकूल पूर्वाधार विकासका लागि  महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको हो।साझेदारीमा तीन वर्षे परियोजनाअन्तर्गत नगरको वडा नं ४ सीमा नगर र वडा नं ९ मङ्गलापुरमा पूर्वाधार निर्माण गरिनेछ। सबैका लागि उपयुक्त सहर बनाउने उद्देश्यका साथ स्थानीय समुदाय, जनप्रतिनिधि, योजना विज्ञ, महिला समूह, युवा तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा निर्माण गरिने सार्वजनिक पूर्वाधारहरूको प्रारम्भिक डिजाइन यसअघि नै तयार भइसकेको जनाएको छ ।
नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकाले केवल संरचना मात्रै नभई सहजता, समानता र समावेशिताको आधार निर्माण गरिरहेको बताए । उनले समावेशी योजना र स्थानीय सहभागिता नै नगर विकासको मेरुदण्ड भएको धारणा व्यक्त  गरेका छन् । नगर उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमा नगरपालिकालाई साँचो अर्थमा महिलामैत्री, समावेशी र सुरक्षित सहर बनाउने लक्ष्य पूरा गर्ने गरी औपचारिक सम्झौता गरिएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले प्राविधिक, जलवायु र स्थानगत पक्षलाई ध्यानमा राखेर पूर्वाधारहरू निर्माण गरिने तथा परियोजनामा नगरपालिकाको ३० प्रतिशत लगानी रहने जानकारी दिए । युनोप्सका  मनीषा कार्कीले सह–डिजाइन अभ्यासबाट सङ्कलित विचार र डिजाइन अवधारणाहरूलाई परिमार्जन, परीक्षण र पुनरावलोकन गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको बताइन्।
परियोजनाका लागि तीन वर्षे कार्यान्वयन अवधि तोकिएको छ। पहिलो चरण सफल भएमा अन्य वडाहरूमा समेत यो परियोजना विस्तार गरिने युनोप्स र नगरपालिकाले जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend