logo
  • शुक्रबार, असोज ३० २०८३

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई फिर्ता पठायो


  • बिहिबार, असोज २३ २०८२

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीलाई नै फिर्ता पठाइदिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निवेदन र कागजात फिर्ता पठाइदिएको भनेको छ ।

काठमाडौं प्रहरीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले काम गरिरहेको भन्दै जाहेरी दर्ता गरेको थिएन । जाहेरी लिएर सिधै आयोगमा पठाइदिएको थियो ।

फौजदारी अभियोगमा विस्तृत अनुसन्धान गरी कसूरदार देखिने अवस्थामा अभियोजन गर्ने कार्य आयोगको क्षेत्राधिकारमा नपरेकाले जाहेरी फिर्ता पठाइएको आयोगका सदस्य विज्ञानराज शर्माले बताए ।

‘फौजदारी कसूरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानूले अख्तियारी प्रदान गरेको विदितै छ,’ उनले भनेका छन्, ‘फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२र०६र२१ को प्रेस विज्ञप्तिको प्रतिलिपिसाथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाइदिने ।’

उल्लेखित आयोगको विज्ञप्तिमा फौजदारी कसुरमा संलग्नलाई सरकारका संयन्त्रबाट अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने भनिएको थियो । आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको भनिएको थियो । तीन दिनअघि ओली र लेखकविरुद्ध जाहेरी लिएर सुधन गुरुङ जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।

बरु त्यसपछि बालुवाटार र सिंहदरबारमा जाहेरीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा छलफल भएको थियो । बालुवाटारमा भएको छलफलमा सुरक्षा निकायका प्रमुखहरुले संयमता अपनाउन सरकारलाई सुझाव दिएका थिए । पछि बालेन शाह र गुरुङसमेतलाई विपक्षी बनाउँदै एमाले निकट अनेरास्ववियूले समेत काउन्टर जाहेरी प्रहरीमा दिएका थिए ।

एमाले अध्यक्ष ओलीसमेत बिहीबार आफूलाई पक्राउ कसरी गर्ने भन्ने विषयमा रातभर छलफल भएको बताएका थिए । र, पहिल्यै आफूहरुले जेलनेल भोगिसकेको भन्दै अहिलेको स्थिति कुनै नयाँ नभएको जिकिर गरेका थिए । उनले देश र सार्वभौमसत्तामाथि हमला भइरहेको समेत दाबी गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend