logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनी प्रदेशमा ३ वर्षमा १९ हजारभन्दा बढी मुद्दा दर्ता


  • बिहिबार, भाद्र २८ २०८०

तेजेन्द्र के.सी.

बुटवल, २७ भदौ ।

लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षलाई हेर्दा प्रत्येक वर्ष आपराधिक घटना वृद्धि भएको पाइन्छ ।आर्थिक वर्ष २०७७–०७८ देखि पछिल्लो आर्थिक वर्षसम्म हेर्दा प्रदेशमा विभिन्न अपराधका घटना वृद्धि भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले तीन वर्षको अवधिमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी १९ हजार १९४ मुद्दा दर्ता भएको जनाएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–०७८ मा ज्यान सम्बन्धी, आत्महत्या सम्बन्धी, सङ्गठित अपराध, सार्वजनिक अपराध, सार्वजनिक अपराध, महिला तथा बालबालिका सम्बन्धी र सवारीलगायत गरी ५ हजार ३५ मुद्दा दर्ता भएका छन् ।यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ६ हजार ३६२ र २०७९–०८० मा ६ हजार ९९७ मुद्दा दर्ता भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले प्रत्येक वर्ष अपराधसँग सम्बन्धित मुद्दाको संख्या बढ्दै जानुमा सहरीकरण एउटा कारण हो । अर्को कारणका रुपमा उनले प्रहरीको सक्रियतालाई देखाए । उनका अनुसार प्रहरी जति सक्रिय हुन्छ, त्यति धेरै मुद्दाको संख्या वृद्धि हुन्छ ।

कुन जिल्लामा कति मुद्दा ?

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै मुद्दा रुपन्देहीमा र सबैभन्दा कम रुकुम पूर्वमा दर्ता भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा रुपन्देहीमा मात्रै ३ हजार ८४६ मुद्दा दर्ता भएका छन् भने रुकुम पूर्वमा यही अवधिमा १९४ मुद्दा दर्ता भएका छन् ।

नवलपरासी पश्चिममा १ हजार २७९, कपिलवस्तुमा २ हजार १८३, गुल्मीमा ७१७, अर्घाखाँचीमा ५०२ र पाल्पामा ७९३ मुद्दा दर्ता भएका छन् ।यस्तै, दाङमा ३ हजार ४७१, प्युठानमा ६३३, रोल्पामा ५६७, बाँकेमा ३ हजार ४४९ र बर्दियामा १ हजार ५६० मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा जघन्य अपराधका घटनासँगै प्रहरीलाई पछिल्लो समय आत्महत्याको अवस्थाले चुनौती थपिदिएको छ । यहाँ आत्महत्याको अवस्था डरलाग्दो रहेको डीआइजी उमेशराज जोशीले बताए ।

अपराध गर्ने विभिन्न विधि र कारण हुने भए पनि त्यसका लागि प्रहरी सतर्क नै रहने उनको भनाइ छ । यद्यपि अपराधीहरूले अनेक ढङ्गबाट विश्वभरि अपराध गर्ने उनी बताउँछन् ।उनले महिनामा ३० देखि ३५ जनाले प्रदेशमा आत्महत्या गरिरहेको तथ्याङ्क प्रहरीमा देखिएको पनि जानकारी दिए । त्यसको रोकथामका लागि सबै मिलेर समाजमा सचेतना अभियान चलाउनुपर्ने उनले बताए ।

बुटवलका मनोचिकित्सक डाक्टर मनोज ढुङ्गानाले पनि सचेतना र व्यक्तिलाई परामर्शको अभावका कारण समाजमा आत्महत्याका घटना वृद्धि भइरहेको बताए ।उनले समयमै मनोरोगीलाई परामर्श गर्दा आधा आत्महत्या रोकिने बताए । त्यसमा घरपरिवार, समाज र सरकार सबै जिम्मेवार हुनुपर्ने डा. ढुङ्गानाको भनाइ छ ।

प्रहरीले केन्द्रीय नीति अनुसार लागु औषध, ठुला अपराध हत्या, सङ्गठित अपराधका सम्बन्धमा विभिन्न अपरेसनको नाम दिएर काम गरिरहेको डीआईजी जोशीले बताए ।लुम्बिनी प्रदेशका आधाजसो जिल्ला भारतसँग सिमाना जोडिएकाले नेपालमा अपराध गर्ने र भारत गएर लुकेर बस्ने तथा भारतमा अपराध गरेर नेपाल आउनेहरू पनि उत्तिकै रहेको भन्दै जोशीले यसका लागि भारतीय प्रहरीसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend