रुपन्देही ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् ।मंगलबार नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका हुन् । मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मतले पराजित गर्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।
यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो । त्यसैगरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका थिए । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् ।
उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका थिए । महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर वजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । उनले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन् । मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।
विजयी उम्मेदारहरुलाई बुधबार बिहान ९ बजे नै सपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्यूरो सदस्य सूर्य थापाले जानकारी दिएका छन् । पपदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कंडेल समूहका हुन् । यो नेतृत्व छनौटका लागि पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल समूहले कंडेल र महासचिव शंकर पोखरेल समूहले रिजाललाई साथ दिएर प्यानगत उम्मेदारी दिएर चुनावी मैदानमा गएका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend