काठमाडौँ । चीनले सोमबार नयाँ नक्सा सार्वजनिक गरेको छ । उसले यसलाई ‘मानक नक्सा’ भनेकाे छ । यो नक्सामा अरुणाचल प्रदेश, अक्साई चिनलाई एकपटक फेरि चीनको हिस्सा भनिएको छ।
चीनको यो नक्सामा साउथ चाइना सी, ताइवानलाई पनि चीनको हिस्सा भनिएको छ । यो नक्सा साझा गर्दै सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा लेखेको छ, ‘चीनको २०२३ को मानक नक्सा सोमबार सार्वजनिक गरिएको छ। यो नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको रेखाचित्र पद्धतिको आधारमा बनाइएको हो ।’
यो नक्सा केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट भएपछि सार्वजनिक गरिएको हो ।
दुवै देशका नेताबीच सीमा विवादबारे पनि कुराकानी भएको थियो । यसअघि अप्रिल २०२३ मा, चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो।
चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैध रूपमा कब्जा गरेको दाबी गरेको छ ।-एजेन्सी
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend