३१ साउन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न तीन महिना लागेको बताएका छन् ।तीन महिनाअघि नै मन्त्रिपरिषद्ले कित्ताकाट खोल्ने निर्णय गरे पनि विभिन्न कारणले समयमा कार्यान्वयन हुन नसकेको भन्दै उनले बेलैमा कार्यान्वयन भएको भए अर्थतन्त्रमा परेको दबाब कम भइसक्ने दाबी गरे ।
बुधबार अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले मन्त्रिपरिषद्ले गरेका निर्णय पनि समयमा कार्यान्वयन गराउन नसक्ने परिस्थिति रहेको टिप्पणी गरेका हुन् ।
‘कहिलेकाहीं क्याबिनेटका कुरा पनि तुरुन्तै कार्यान्वयन गर्न कठिन भएको अनुभव गरेको छु । हिजो मात्र हामीले क्याबिनेटबाट कित्ताकाट सम्बन्धी निर्णय गरेका छौं । अर्थतन्त्रमाथि परेको अहिलेको दबाब हटाउने एउटा महत्वपूर्ण माध्यम हो भन्ने निजी क्षेत्रलगायत सबैको पनि चाहनाको आधारमा गरेको यो निर्णय कार्यान्वयन गर्न तीन महिना लाग्यो’ उनले भने ।
कित्ताकाटको निर्णय त्यतिबेलै कार्यान्वयन गर्न सकेको भए अर्थतन्त्रमा धेरै सुधार भइसक्ने प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।सरकारले चाहे जसरी काम गर्न नसकेको भन्दै उनले विगतमा नीतिनियम, कार्यशैली र संस्कारले अप्ठेरो परेको बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend